Techie IT
  • आईतबार, वैशाख ६, २०८३ / Sunday, April 19, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारस्वावलम्बन लघुवित्तद्वारा आरुवारीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्तद्वारा आरुवारीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड को शाखा कार्यालय साँखुले आइतबार काठमाडौंको अरुणोदय माध्यमिक विद्यालय मा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सदस्य तथा समुदायमा वित्तीय ज्ञानको पहुँच बढाई उनीहरूको आर्थिक निर्णय प्रक्रियामा सुधार ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

शाखा कार्यालय साँखुका कार्यालय प्रमुख सीता सापकोटाले सञ्चालन गरेको कार्यक्रममा वित्तीय संस्थाका सदस्य, अभिभावक, विद्यार्थी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवातमा शाखा कार्यालय साँखुकी वरिष्ठ सहायक सूचना वि.क.ले सहभागीहरूलाई स्वागत गरेकी थिइन् ।

कार्यक्रममा संस्थाको ऐतिहासिक पृष्ठभूमि, उपलब्ध गराउँदै आएका सेवा तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै केन्द्रीय कार्यालयका प्रबन्धक (उद्यमशीलता, ग्राहक संरक्षण तथा अनुसन्धान विभाग) सुमन श्रेष्ठले मन्तव्य दिएका थिए । उनले संस्था केवल ऋण लगानीमा मात्र सीमित नभई ग्राहक हित र संरक्षणमा समेत सधैं तत्पर रहेको बताएका थिए ।

कार्यक्रममा शाखा कार्यालय साँखु अन्तर्गतका सदस्यहरूका छोराछोरीमध्ये गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने दुई जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो । साथै उत्कृष्ट तीन केन्द्रलाई नगदसहित प्रमाणपत्र तथा दुई वटा केन्द्रलाई केन्द्रघर मर्मत सहयोग प्रदान गरिएको थियो ।

वित्तीय साक्षरताको मुख्य प्रशिक्षण सत्र नेपाल राष्ट्र बैंकबाट प्रमाणित स्रोत व्यक्ति उमा जोशी वोहोराले सञ्चालन गरेकी थिइन् । उनले पारिवारिक बजेट निर्माण, बचत गर्ने बानी, कर्जाको सही सदुपयोग, डिजिटल बैंकिङ, वित्तीय ठगीबाट बच्ने उपाय तथा स्वास्थ्य बीमाबारे व्यवहारिक जानकारी दिएकी थिइन् ।

कार्यक्रमको अन्तिम चरणमा सहभागीहरूले राखेका जिज्ञासा, अपेक्षा तथा गुनासोलाई इलाका कार्यालय ठिमी, भक्तपुरका प्रबन्धक चेतनाथ बगालेले सम्बोधन गरेका थिए । उनले सहभागीहरूको समस्या समाधान गर्दै आगामी दिनमा संस्थाले ग्राहकमुखी सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस कार्यक्रमबाट सदस्य तथा समुदायमा वित्तीय चेतना अभिवृद्धि भई उनीहरूको आर्थिक जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको