Techie IT
  • शुक्रबार, जेठ ४, २०८१ / Friday, May 17, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारशिक्षकमाथि कुटपिट गर्नेमाथि कारवाहीको माग गर्दै तीन दिनदेखि कञ्चरपुरका विद्यालय बन्द

शिक्षकमाथि कुटपिट गर्नेमाथि कारवाहीको माग गर्दै तीन दिनदेखि कञ्चरपुरका विद्यालय बन्द


काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवामा रहेको शिद्धनाथ माविका शिक्षक तथा लेखापाल वीरेन्द्र जोशीमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै तीन दिनदेखि कञ्चनपुरका विद्यालयहरू बन्द छन् । गत आइतबारदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहेका हुन् ।

आइतबार नै भीमदत्त नगरपालिका भित्रका सामुदायिक विद्यालय बन्दको आह्वान गरिएको थियो । तर, मागप्रति स्थानीय प्रशासन मौन बसेको भन्दै सोमबारदेखि जिल्लाभरकै सामुदायिक र निजी विद्यालय बन्द आह्वान गरिएको हो ।

विद्यालय बन्द आह्वान गर्दै शिक्षक कर्मचारीहरू तीन दिनदेखि सडकमा आन्दोलन गर्दै आएका छन् । भदौ ३ गते यौन दुर्व्यवहार आरोप लागेका शिक्षक जोशीमाथि विद्यालय प्रांगणमै कुटपिट भएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका जोशीमाथि सामूहिक रूपमा ढुंगामुढा प्रहार हुनुका साथै कुटपिट गरिएको थियो ।

जोशीमाथि कक्षा १० मा अध्ययनरत छात्राले आफ्नो संवेदनशील अंग समातेको आरोप लगाएकी थिइन् । उक्त आरोपपछि शिक्षक जोशीमाथि कारबाहीको माग गर्दै भदौ ३ गते विद्यालयमा विद्यार्थी, अभिभावक तथा स्थानीयले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा प्रहरीको टोलीले शिक्षक जोशीलाई नियन्त्रणमा लिएको थियो ।

अफिसबाटै हतकडी लगाएर प्रहरीले भ्यानमा लैजाने क्रममा उनीमाथि निर्घात कुटपिट भएको थियो ।

विद्यालय तथा शिक्षक कर्मचारीहरूले जिल्लास्तरको आन्दोलन परिचालन समिति बनाएर आन्दोलन गर्दै आएका छन् । शिक्षकमाथि कुटपिट गर्नेलाई कारबाही गर्नुपर्ने, शिक्षकमाथि लागेको आरोपको छानबिन हुनुपर्ने, लापरबाही गर्ने प्रहरी अधिकारीमाथि कारबाही गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका हुन् । उनीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्नुका साथै धर्ना दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले भने आन्दोलनरत शिक्षकहरूलाई वार्ताको लागि बोलाएको छ । वार्ता र आन्दोलनका कार्यक्रम सँगसँगै अघि बढिरहेको उनीहरूको भनाई छ । शिक्षक कर्मचारीहरूले थालेको आन्दोलनमा निजी विद्यालय सञ्चालकहरूले समेत ऐक्यबद्धता जनाएका छन् । उनीहरूले समेत सम्पूर्ण संस्थागत विद्यालय बन्द आह्वान गरेका हुन् ।

नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समिति मार्फत आन्दोलन हुँदै आएको हो ।आरोपपछि विद्यालयमा नाराजुलुस र ढुंगामुढा प्रहार गर्न लागेपछि जिल्ला प्रहरी कार्यालयबाट सुरक्षार्थ प्रहरी टोली खटाइएको थियो । जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक सीताराम विष्टको कमाण्डमा प्रहरी खटाएको छ ।

उनको सुरक्षामा आरोपित शिक्षक जोशीलाई कार्यकक्षबाटै हतकडी लगाई २०० मिटरको दुरीमा रहेको प्रहरी भ्यानमा लगिएको थियो । त्यही बेला जोशीमाथि ढुङ्गामुढा, ईट र धारिलो हतियार प्रहार भएको हो । गम्भीर घाइते भएका जोशीको हाल धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

उनीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै आएपछि प्रशासन मौन बसेको समितिको भनाई छ । उनीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गर्दै भदौ १० गते भीमदत्त नगरपालिका भित्रका र ११ गतेदेखि जिल्लाभरका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरिएको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भने ६ जनालाई पक्राउ गरेको छ । त्यस्तै आरोपित शिक्षक जोशीको समेत प्रहरी सुरक्षा घेरामा उपचार भइरहेको हो ।

घटनामा संलग्न रहेका ८ जना मध्ये २ जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख एसपी कमल थापाले घटनाबारे किटानी जाहेरी लिएर अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको बताए ।



तपाईको प्रतिक्रिया