Techie IT
  • बुधबार, साउन ८, २०८२ / Thursday, July 24, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठइन्टरभ्यु‘‘एसईईको जीपीएका आधारमा विद्यार्थी छनोट गर्ने सिटिइभिटीको निर्णय वैज्ञानिक र व्यावहारिक छ’’

‘‘एसईईको जीपीएका आधारमा विद्यार्थी छनोट गर्ने सिटिइभिटीको निर्णय वैज्ञानिक र व्यावहारिक छ’’


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले शैक्षिक सत्र २०८२/०८३ का लागि नयाँ भर्ना निर्देशिका जारी गरेको छ । निर्देशिकाले एसईईपछिका १८ महिने र २४ महिने (औद्योगिक प्रशिक्षार्थी तालिम) तर्फका पि–डिप्लोमा तह तथा ३ वर्षे डिप्लोमा र प्रमाणपत्र तहका प्राविधिक तथा व्यावसायिक शिक्षाका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्ना प्रक्रियालाई चुस्त, दुरुस्त, पारदर्शी, छिटो र छरितो बनाउने लक्ष्य लिएको छ । विगतका वर्षहरूभन्दा यस वर्षको भर्ना प्रक्रियामा मुख्यतयाः अनलाइन प्रणालीको प्रयोग र एसईईको प्राप्तांकका आधारमा विद्यार्थी छनोट गर्ने व्यवस्था गरिएको छ । यसै सन्दर्भमा रहेर परिषद्का पूर्व परीक्षा नियन्त्रक तथा हाल परिषद् स्तर निर्धारण तथा सम्बन्धन महाशाखा प्रमुख एवम् क्वालीटी परियोजनाका निर्देशक प्रमोदभक्त आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंशः

सिटिइभिटी, परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८२/८३ का लागि नयाँ भर्ना सम्बन्धी निर्देशिक जारी गरी विद्यार्थी भर्ना सुरु गरेको छ । यस वर्ष जारी गरिएको निर्देशिकामा विगतका वर्षमा भन्दा के फरक छ ?

यो निर्देशिकाले विद्यार्थी भर्ना प्रक्रियालाई विगतका तुलनामा धेरै सहज र व्यवस्थित बनाउने प्रयास गरेको छ । पहिलो कुरा अनलाइन आवेदन प्रणाली सबै तहका (प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र), कार्यक्रम र कोटाहरू जस्तै पूर्ण शुल्कीय, वर्गीकृत (निःशुल्क) छात्रवृत्ति, विशेष छात्रवृत्ति लगायतका कार्यक्रमहरूमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अनलाइन आवेदन फाराम भर्ने व्यवस्था गरिएको छ । यसले विद्यार्थीहरूलाई जुनसुकै ठाउँबाट पनि आफूलाई चाहिएको कार्यक्रम र कोटामा आवेदन दिन सहज हुनेछ र शैक्षिक संस्थामा भौतिक रूपमा उपस्थित भएर फाराम बुझाउनुपर्ने बाध्यता हटेको छ । यसले गर्दा विद्यार्थी तथा अभिभावकको समय तथा स्रोतको बचत हुनेछ । साथै, आफूले अध्ययन गर्न चाहेको विषय र शिक्षण संस्थामा आवेदन फाराम लिएन वा लिन चाहेनन् भन्ने गुनासोको पनि समाधान हुनेछ ।

दोस्रो कुरा यस वर्ष प्रवेश परीक्षाको सट्टा एसईईमा प्राप्त गरेको प्राप्तांक जीपीएको आधारमा योग्यताक्रमको सूची प्रकाशन गरी विद्यार्थी छनोट गरिनेछ । यसमा एसईईको जीपीए ४ पूर्णांक मानिनेछ, जसमा सामुदायिक र सरकारी विद्यालयबाट अध्ययन गरेकालाई १ अंक र संस्थागत विद्यालयबाट अध्ययन गरेकालाई ०.८५ अंक थप गरी कुल प्राप्तांकका आधारमा मेरिट सूची तयार गरिनेछ । परीक्षा नियन्त्रण कार्यालयबाट तयार गरिएको सफ्टवेयरले योग्यताक्रमको सूचि तयार गर्नेछ । यसबाट विद्यार्थीहरूले पनि आफ्नो अवस्थाका बारेमा जान्ने मौका पाउँछन् ।

त्यस्तै, तेस्रो कुरा भनेको परीक्षा प्रणालीको सरलीकरण हो । विगतमा प्रवेश परीक्षामा प्राप्त गरेको अंक र एसईईको अंक जोडेर मेरिट सूची तयार गरिन्थ्यो । भने, अब प्रवेश परीक्षा नै हटाइएको छ । यसले परीक्षा प्रणालीलाई सरल बनाउनुका साथै नतिजा प्रकाशनमा लाग्ने समय बचत गर्नेछ । जसले गर्दा परीक्षा नियन्त्रण कार्यालयले तयार गरेको शैक्षिक क्यालेण्डर लागु गर्न सहज हुने हाम्रो अनुमान छ ।

त्यसैगरी, चौथो कुरा छात्रवृत्तिको आवेदन प्रक्रियामा समेत सुधार आउनेछ । प्राविधिक शिक्षामा समावेशी एवं समतामूलक पहुँचका लागि महिला, दलित, मुस्लिम, सीमान्तकृत वर्गका विद्यार्थी र प्राविधिक शिक्षालयको संस्थागत पहुँच नपुगेका पालिकाभित्रका छात्रछात्राका लागि विशेष छात्रवृत्तिको व्यवस्था विगतका वर्षहरू देखिनै गरिँदै आएको विषय हो । विगतमा यी छात्रवृत्तिहरूका लागि सम्बन्धित संस्थामा आवेदन फाराम बुझाउनुपर्ने र भौतिक रूपमा उपस्थित भई प्रवेश परीक्षा दिनुपर्ने अवस्था थियो । यी कार्यक्रमहरूको भर्ना समय समेत फरक–फरक समयमा हुने गरेको थियो । जसका कारण विद्यार्थी अभिभावकहरू आवेदन फारामका लागि पटक–पटक शैक्षिक संस्थामा धाउनुपर्ने र प्रवेश परीक्षाका लागि विद्यार्थी स्वयम् भौतिकरूपमा तोकिएको परीक्षा केन्द्रमा उपस्थिति हुनुपर्ने थियो । विद्यार्थी अभिभावकहरूलाई कुन समयमा कुन कार्यक्रम र कोटाका लागि आवेदन खुल्ने हो ? कसरी आवेदन फाराम भर्ने भन्ने सम्बन्धमा अन्यौलता हुने अवस्था थियो । फरक फरक समयमा आवेदन फाराम खुल्ने र भर्नाका लागि सिफारिस गर्ने व्यवस्थाले एकातर्फ विद्यार्थीहरूले छात्रवृत्तिका राम्रा अवसर गुम्ने र अर्काे तर्फ शिक्षण संस्थाहरूमा छात्रवृत्ती कार्यक्रममा समेत कोटा रिक्त रहने अवस्था आएको थियो । यस वर्ष सबै कार्यक्रम र कोटाका लागि एकै पटक भर्ना हुने व्यवस्थाका साथै छात्रवृत्ति कार्यक्रममा पनि अनलाइन आवेदन फाराम र एसईईको जीपीएका आधारमा योग्यताक्रमको सूची प्रकाशन गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, आइटीएमएस (Integrated Training Management System) मा आवेदनको मोड्युल विकास गरी सफ्टवेयरमार्फत नै योग्यताक्रमको सूची प्रकाशन गर्ने उद्देश्य राखिएको छ । यसले गर्दा विद्यार्थी छनोट प्रकृयालाई अझ बढी पारदर्शी र स्वचालित बनाउनेछ । जसका कारण सम्पूर्ण प्रणालीमा सुधार हुनेछ । जसकारण प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन गर्न इच्छुक भाइबहिनीहरुलाई भर्नाका लागि आवेदन फाराम भर्न सहज पहुँच होस् र सम्पादन गरिने क्रियाकलापमा सेवाग्राही र सरोकारवालाको विश्वास जितोस् भन्ने उद्देश्य राखिएको छ ।

सहज पहुँच र विश्वासको कुरा गर्नुभयो यसका लागि निर्देशिकामा व्यवस्था के छ ?

परिषद्अन्तर्गत सञ्चालन हुने प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरू एसईईपछिका कार्यक्रमहरू हुन् । यी सबै कार्यक्रमहरूमा अनलाईन आवेदनको व्यवस्था गरिएको छ । विद्यार्थीले जुनसुकै ठाउँबाट आफूले चाहेको कार्यक्रममा भर्नाका लागि आवेदन दिन सक्छन् । विद्यार्थीले आवेदन फारामका साथ पेश गरेका एसईईमा प्राप्त गर्न सक्ने कुल प्राप्तांक जीपीए ४ र सामुदायिक विद्यालय अध्ययन गरेको विद्यार्थीलाई १ र संस्थागत विद्यालय अध्ययन गरेकोलाई ०.८५ अंक जोडि कुल प्राप्तांकको आधारमा योग्यताक्रमको सूचि प्रकाशन गरी विद्यार्थीको छनोट गर्ने र भर्नाका लागि सम्बन्धित शिक्षालयहरूमा सिफारिस गर्ने व्यवस्था गरिएको छ ।

यो कार्यक्रमबाट हुने फाइदा चाहिँ के हो ?

यस व्यवस्थाको मूख्य उद्देश्य प्राविधिक शिक्षामा अध्ययन गर्न चाहने विद्यार्थीको पहूँचमा पुर्याउनु हो । साथै, सेवाग्राही विद्यार्थी र अभिभावकको विश्वास जित्नु हो । विगतका वर्षहरू देखि नै प्रवेश परीक्षालाई व्यवस्थित गर्दै आएका हौँ । यद्यपि यस प्रणालीले हाम्रा सरोकारवालाहरू सबैको थप विश्वास जित्ने प्रयास गरिएको छ । फरक–फरक समयमा भर्नाका लागि आवेदन फाराम खोल्ने र भौतिक रूपमा उपस्थित भएर प्रवेश परीक्षा दिनुपर्ने यसले भर्नाको नतिजा प्रकाशनमा ढिलाई हुन्थ्यो । भर्ना प्रकृया लामो हुन्थ्यो । तोकिएको समय भित्र भर्ना सिफारीस र भर्ना हुन नसक्दा शिक्षालयमा छात्रवृत्तीका कोटाहरूसमेत रिक्त हुने अवस्था थियो । तसर्थ यस प्रावधानले समग्रमा हाम्रो शैक्षिक क्यालेण्डरलाई नै प्रभावित पार्दथ्यो । यो प्रावधान पश्चात समयमा नै योग्यताक्रमका आधारमा विद्यार्थी छनोट, भर्ना, रजिष्ट्रेशन, नियमित पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन सम्मका कामहरू सम्पन्न हुनेछन् ।

यो सम्भव छ त ?

छ । अहिले हामी सूचना प्रविधिका क्षेत्रमा धेरै अगाडी छौ । यसका लागि परीक्षा नियन्त्रण कार्यालयले एफएक्यू र आवेदन फाराम भर्ने विधि र तरिकाका सम्बन्धमा मोड्युअल बनाएर वेवसाइटमा राखेको छ । यसले सहयोग गर्न सक्दछन् । अनलाईन आवेदन फाराम भर्दा कुनै कठीनाई भएमा सम्बन्धित शिक्षालयहरूले सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि परीक्षा नियन्त्रण कार्यालयले प्रदेश तहमा रहेका ७ वटै कार्यालयका सूचना प्रविधि अधिकृत र यसमा संलग्न कर्मचारी र शिक्षालयहरूलाई भर्चुअल विधिबाट ओरेन्टेशन दिने कार्यक्रमसमेत गरेको अवस्था छ । यसमा सबै साथीहरू र तपाईहरू जस्ता मिडियाका साथीहरूले समेत सहयोग गर्नुपर्ने आवश्यकता देख्छु ।

यस निर्देशिकाको कार्यन्वयन पश्चात शैक्षिक क्यालेण्डरको पूर्णतः लागू हुने विश्वास के छ ?

हामीले यसमा पूर्ण विश्वास लिएका छौँ । निर्देशिकाको कार्यान्वयन पश्चात समयमा नै भर्ना प्रकृया समाप्त हुनेछ । यस अघि फरक–फरक समयमा हुने प्रवेश परीक्षा अव एकैपटक हुनेछ । यस अघि भौतिक रूपमा आवेदन फाराम संकलन गर्ने, रूजु गर्ने, प्रवेश परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा धेरै समय लाग्थ्यो । धेरै जनशक्ति खटिनुपर्ने हुन्थ्यो । जसले गर्दा हाम्रा नियमित परीक्षा र नतिजा प्रकाशनमा समयमानै हुन नसक्ने अवस्था हुन्थ्यो । अब आवेदकले आवेदन फारामका साथ संलग्न गरेको कागजात र शैक्षिक योग्यता अनुसार नतिजा प्रकाशन हुन्छ । यी सबै क्रियाकलापका सूचना प्राविधिसँग सम्बन्धित कर्मचारी साथीको सहयोगले आवेदन फारामहरू रूजु गरी योग्यताक्रमको सूची प्रकाशन गर्ने र भर्ना सिफारिस गर्न सकिन्छ ।

आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरु चाहिँ के के हुन् ?

सिटिइभिटीले विद्यार्थी भाइबहिनी र अभिभावकहरूलाई यस नयाँ भर्ना प्रक्रियालाई विश्वास गर्न अनुरोध गरेको छ । एसईईमा प्राप्त गरेको प्राप्तांकका आधारमा योग्यताक्रमको सूची प्रकाशन हुनेछ । छनोटका लागि मेरिट सूचीमा रहेका विद्यार्थी भर्ना हुन नआएमा सोही शिक्षालयमा प्रतिक्षा सूचीमा रहेकाहरूलाई अवसर दिइनेछ । तयार गरिएको प्रणालीभन्दा बाहिर गएर भर्ना गर्ने/गराउने कार्यको कुनै सम्भावना नहुने भएकाले कसैले भर्ना गरिदिने प्रलोभन दिएमा विश्वास नगर्न अनुरोध गर्दछु ।

विद्यार्थीहरूले आवेदन फाराम भर्नु पूर्व आफूले अध्ययन गर्न चाहेको विद्यालय, कार्यक्रम र उपलब्ध कोटाहरूका बारेमा पर्याप्त जानकारी लिनुपर्नेछ । एउटै तहका कार्यक्रमका लागि दुई फरक शैक्षिक संस्थामा आवेदन फाराम भर्न पाइने छैन । पूर्णशुल्कीय कार्यक्रमतर्फ एकै तहको कार्यक्रममा एउटा मात्र आवेदन फाराम भर्नुपर्नेछ । भने आवेदकले योग्य हुन सक्ने कोटाहरूमा (Eligible Categories) टिक लगाउन भुल्न हुँदैन । साथै, कोटाहरू छनोट गर्दा आवश्यक प्रमाणहरू समावेश गर्नुपर्दछ ।

प्राविधिक शिक्षामा समावेशी र समतामूलक पहुँचका लागि पिछडिएको वर्ग, क्षेत्र, लिङ्ग, समुदायका लागि वर्गीकृत छात्रवृत्ति (निशुल्क) र आवासीय सुविधासहितको छात्रवृत्तिको कोटा व्यवस्था गरिएको छ।

यतिबेला तपाईं स्तर निर्धारण तथा सम्बन्धन महाशाखामा हुनुहुन्छ । सिटिइभिटीबाट स्तर निर्धारण तथा सम्बन्धनका क्षेत्रमा भएका कामका बारेमा केही बताइदिनुहोस् न ।

परिषद्सँग सम्बन्धन स्वीकृति लिएर डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रम सञ्चालनका लागि आवेदन दिने संस्थाहरूको सम्बन्धन स्वीकृति लामो समय देखि टुङ्गोमा पुर्याउन सकिएको छैन । हामीले करिव १२ वर्ष अघिदेखि सम्बन्धन स्वीकृति लिन चाहने संस्थाहरूका बारेमा हुन्छ वा हुँदैन भन्न सकेका छैनौं । करिव ४ सयभन्दा बढी संस्थाहरूका १३०० भन्दा वढी कार्यक्रमहरू सम्बन्धन स्वीकृती पाउनका लागि पाइप लाइनमा छन् । उक्त
संस्थाहरू सम्बन्धन प्रकृयाका विभिन्न चरणमा छन । व्यक्तिहरूबाट सम्बन्धन स्वीकृति लिएर कार्यक्रम सञ्चालनका लागि पर्याप्त लगानी समेत गर्नुभएको छ । यद्यपि यसलाई टुङ्गोमा पुर्‍याउन सकिएको छैन । यसका पछाडी विभिन्न कारणहरू छन् । यस्तो अवस्थामा यसलाई के कसरी टुङ्ग्याउने भन्ने सम्बन्धमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को वैठकमा छलफलले प्रवेश पाएको छ । यसका लागि सरोकारवालाहरूसँग छलफल गर्ने, आवश्यकताका आधारमा सम्बन्धन स्वीकृति दिने, सम्बन्धन स्वीकृति सम्बन्धी प्रक्रिया र विधिहरूलाई थप पारदर्शी गर्ने र यसका लागि कार्ययोजना तयार गर्न एक कार्यदल समेत गठन भएको छ । आगामी दिनमा कार्यदलले दिएको प्रतिवेदन र परिषद्बाट प्राप्त मार्ग निर्देशनका आधारमा परिषद् कार्यालयले काम सम्पन्न गर्नेछ ।

त्यस्तै हामीले हालसम्म शिक्षण संस्थाहरूलाई कार्यक्रम सञ्चालन गर्ने सम्बन्धन स्वीकृति मात्र दिँदै गयो । सञ्चालन भएका कार्यक्रमको गुणस्तरमा ध्यान पुर्याउन नसकिएको कुरा साँचो हो । यसका लागि आगामी दिनहरूमा शिक्षण संस्था वा कार्यक्रमहरूको स्तर निर्धारण गर्ने काम शुरु गरेका छौँ । हाल यस सम्बन्धी विनियमावली स्वीकृत भएको छ विनियमावली मा व्यवस्था गरे अनुसारका कार्यहरू सम्पादन गर्न कार्यविधि तयार गरेका छौं । अबको केहि महिना भित्रै मूल्यांकनकर्ताको तालिम दिने र शिक्षालयहरूलाई स्तर निर्धारण प्रक्रियामा सहभागीहुनका लागि आह्वान गर्ने योजना तय गरेका छौं । अवको हाम्रो कार्य गुणस्तरीय एवं सान्दर्भिक प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको नै हो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको