Techie IT
  • शनिबार, जेठ २, २०८३ / Saturday, May 16, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजनेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?

नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?


देशभर कक्षा ११ र १२ अध्यापन गराउने ४ हजार ९ सय २४ माविहरुमध्ये काठमाडौं मोडल सेकेण्डरी स्कुल यस वर्ष एजुकेशन समाचारले छनोट गरेको उत्कृष्ट ३० माविमध्ये तेस्रो स्थानमा पर्न सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डको पछिल्ला तीन वर्षको कक्षा १२ को नतिजा, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, सार्वजनिक विश्वास र शैक्षिक उपलब्धिलाई आधार बनाएर गरिएको मूल्यांकनमा काठमाडौं मोडलले आफूलाई देशकै अब्बल माविमध्ये स्थापित गरेको हो ।

काठमाडौंको शैक्षिक केन्द्र बागबजारमा अवस्थित काठमाडौं मोडल पछिल्ला वर्षहरूमा प्लस–टु शिक्षाको सबैभन्दा विश्वासिलो र प्रतिस्पर्धात्मक गन्तव्यका रूपमा परिचित हुँदै आएको छ । २७ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराउँदै आएको यस संस्थाले ‘एकेडेमिक एक्सिलेन्स थ्रु क्वालिटी एजुकेशन’लाई आफ्नो मूल मन्त्र बनाउँदै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले वि.सं. २०७९ सालदेखि लागू गरेको नन–ग्रेडिङ प्रणालीपछि पछिल्ला तीन वर्षको कक्षा १२ को बोर्ड नतिजालाई अब्बल मावि छनोटको मुख्य आधार बनाइएको थियो । त्यससँगै लगातार तीन वर्ष ४ सय ८० भन्दा बढी विद्यार्थी बोर्ड परीक्षामा सहभागी गराउने माविहरुमध्येबाट उत्कृष्ट संस्थाहरु छनोट गरिएका थिए । यही प्रतिस्पर्धात्मक मूल्यांकनमा काठमाडौं मोडलले देशकै तेस्रो उत्कृष्ट माविका रूपमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।

माविका डेपुटी सिइओ अनिष ढकालका अनुसार काठमाडौं मोडलले केवल बोर्ड परीक्षाको नतिजामा मात्र होइन, विद्यार्थीको समग्र भविष्य निर्माणमा जोड दिँदै आएको छ । ‘हामी विद्यार्थीलाई कक्षा १२ सम्म सीमित गर्दैनौं । उनीहरूको उच्च शिक्षा, करिअर योजना र प्रतिस्पर्धात्मक परीक्षासम्मको यात्रालाई केन्द्रमा राखेर काम गर्छौं,’ उनी भन्छन् ।

दक्ष तथा प्रतिस्पर्धात्मक फ्याकल्टी टिम, प्रविधिमैत्री कक्षाकोठा, अन्तरक्रियात्मक अध्यापन विधि, अनुसन्धानमुखी सिकाइ र विद्यार्थीलाई दिइने व्यक्तिगत केयरिङ काठमाडौं मोडलको सफलताको मुख्य आधार मानिन्छ । यहाँ विद्यार्थीलाई केवल राम्रो अंक ल्याउने लक्ष्यसहित मात्र होइन, भविष्यमा आत्मविश्वासी, सक्षम र प्रतिस्पर्धी व्यक्तित्वका रूपमा विकास गर्ने वातावरण निर्माण गरिएको छ ।

काठमाडौं मोडलले राष्ट्रिय परीक्षा बोर्डको नतिजासँगै एमबीबीएस र इन्जिनियरिङ प्रवेश परीक्षामा समेत उल्लेखनीय सफलता हासिल गर्दै आएको छ । कलेजका अनुसार गत वर्ष १६ जना विद्यार्थीले ३.९६ जीपीएसहित नेपाल प्रथम बन्न सफल भएका थिए । त्यस्तै, ५४ जना विद्यार्थीले एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका थिए भने ६७ जना विद्यार्थी आइओई प्रवेश परीक्षामा सफल भएका थिए । हाल ३०० भन्दा बढी विद्यार्थी विभिन्न मेडिकल शिक्षाका कार्यक्रममा अध्ययनरत रहेको कलेजको दाबी छ ।

विद्यार्थीको क्षमता पहिचान गरी व्यक्तिगत रूपमा मार्गदर्शन गर्ने प्रणाली, सुविधासम्पन्न कक्षाकोठा, होस्टल तथा यातायातको व्यवस्था, लामो शैक्षिक विरासत र निरन्तर उत्कृष्ट नतिजाले काठमाडौं मोडललाई अब्बल माविको सूचीमा उभ्याउँदै आएको छ । शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा यस संस्थाले दुई पटक उत्कृष्ट माविको पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।

‘निरन्तर उत्कृष्टता’लाई आफ्नो पहिचान बनाएको काठमाडौं मोडल सेकेण्डरी स्कुल आज केवल एउटा शैक्षिक संस्था मात्र होइन, हजारौं विद्यार्थीको सपना र सफल भविष्य निर्माण गर्ने भरोसायोग्य गन्तव्यका रूपमा स्थापित भएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको