Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा

कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा


कक्षाकोठाभित्र कक्षा ११ र १२ को पढाइ चलिरहेको थियो । विद्यार्थीहरू आफ्नै संसारमा थिए । कसैको हातमा किताब थियो, कोही विद्यालय आइसकेका थिए, कोही आइरहेका थिए । बाहिर हेर्दा त्यो बिहान अरू दिनजस्तै सामान्य थियो ।

तर नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा त्यो सामान्य बिहान केही मिनेटमै जीवन र मृत्युबीचको दौडमा परिणत हुँदै थियो ।

बुधबार बिहान करिब ९ बजेर १० मिनेट जाँदा विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीको मोबाइलमा लगातार घण्टी बज्न थाल्यो । माथिल्लो क्षेत्रमा बाढी आएको र त्रिशूलीतर्फ ठूलो भेल आउँदै गरेको खबर थियो । केही मिनेटमै फरक–फरक व्यक्तिबाट चारवटा चेतावनी आयो । तीमध्ये एउटा सूचना बेत्रावतीबाट आएको थियो, जुन त्रिशूली नदीको माथिल्लो क्षेत्रमा पर्छ ।

सूचना शतप्रतिशत पुष्टि भइसकेको थिएन । तर दवाडीसँग पुष्टि कुर्ने समय पनि थिएन । उनले एउटा निर्णय लिए—कक्षा रोक्ने र विद्यालय खाली गर्ने ।

त्यो निर्णय सामान्य प्रशासनिक निर्णय थिएन । त्यो निर्णयसँग विद्यालयमा रहेका करिब ९ सय विद्यार्थी र १६ शिक्षक–कर्मचारीको जीवन जोडिएको थियो । विद्यालयमा कुल १ हजार ६ सय ४३ विद्यार्थी अध्ययनरत थिए । घटनाका बेला भने ११ देखि १८ वर्ष उमेर समूहका करिब ९ सय विद्यार्थी विद्यालयमा थिए ।

दवाडी त्यतिबेला विद्यालयमै थिए । पहिलो सूचना आएपछि जोखिमको अवस्था बुझ्न खोज्दै गर्दा थप फोन आउन थाले । एकपछि अर्को फोन । एकपछि अर्को चेतावनी ।

माथिल्लो क्षेत्रमा बाढीको अवस्था गम्भीर बन्दै गएको खबर आउँदै थियो ।

त्यहीबीच विद्यालयका लेखापाल पनि हतारिँदै दवाडीसमक्ष पुगे । ‘बाढी आउँदैछ’ भन्ने खबरले विद्यालयभित्रको वातावरण एकाएक बदलियो । अभिभावकहरू आफ्ना छोराछोरी लिन विद्यालय पुग्न थाले । केही विद्यार्थीलाई सुरक्षित स्थानतर्फ पठाउने तयारी सुरु भयो ।

दवाडीले धेरै सोचेनन् । विद्यालयमा बिचमै घण्टी बज्यो । कक्षा रोकियो । विद्यार्थीहरूलाई माथिल्लो सुरक्षित स्थानतर्फ जान भनियो । विद्यालयतर्फ आउँदै गरेका विद्यार्थी बोकेका बसलाई समेत फर्किन निर्देशन दिइयो । केही विद्यार्थी मोटरसाइकलमा, केही बसमा र धेरैजसो पैदलै उचाइतर्फ दौडिए । दुई विद्यार्थी आत्तिएर बेहोससमेत भएका थिए, उनीहरूलाई शिक्षकहरूले मोटरसाइकलबाट सुरक्षित स्थानमा पुर्‍याएका थिए । त्यो बेला कसैलाई थाहा थिएन—उनीहरूसँग कति समय बाँकी छ ।

करिब १५ मिनेटपछि विद्यालय खण्डहरमा परिणत

करिब ९ बजेर २३ मिनेटतिर पानी, माटो र भग्नावशेषको विशाल भेल विद्यालयतर्फ आइपुग्यो । त्यो भेलले केही सेकेन्डमै विद्यालयलाई आफ्नो बाटोमा पार्‍यो । विद्यालयको भवन ध्वस्त भयो । वरपरका संरचना बगे । बाटो र पुलहरू क्षतिग्रस्त भए । जहाँ केही मिनेटअघि विद्यार्थीहरू पढिरहेका थिए, त्यहाँ अब पानी, माटो र भग्नावशेष मात्र थियो ।

विद्यालय त्रिशूली नदी र जलविद्युत् आयोजनाको नहरबीचको साँघुरो भूभागमा रहेको थियो । बाढीपछि विद्यालय रहेको स्थान नै नदीको बहाव क्षेत्रजस्तो देखिएको छ । तर एउटा कुरा बाँकी थियो ।  विद्यार्थीहरू बाँचेका थिए ।

‘१० मिनेट ढिला भएको भए…’ घटना सम्झँदा दवाडी स्वयं पनि त्यो निर्णयको गम्भीरता महसुस गर्छन् ।

उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भनेका छन्—यदि निर्णय लिन १० मिनेट ढिला भएको भए आफू, विद्यार्थी र अन्य कर्मचारी आज यो घटनाबारे कुरा गर्न सक्ने अवस्थामा नहुन सक्थे । उनको तर्क सरल थियो । बाढी नआएको भए बढीमा एक दिनको पढाइ छुट्थ्यो । तर बाढी आएको अवस्थामा निर्णय ढिला हुनुको मूल्य सयौँ जीवन हुन सक्थ्यो ।

त्यसैले उनले जोखिम लिए । विद्यालय खाली गराए । र, केही मिनेटपछि त्यही निर्णय सही साबित भयो ।

‘हामी १० सेकेन्डले बाँचेका थियौँ’  विद्यालयकी १६ वर्षीया विद्यार्थी युनिशाका लागि त्यो दिन अझै पनि सपना जस्तै छ । उनी साथीहरूसँगै सुरक्षित स्थानतर्फ दौडिरहेकी थिइन् । पछाडिबाट पानी र भग्नावशेषको भेल बस्तीमा पसिरहेको थियो । उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग आफू र उनका साथीहरू केवल १० सेकेन्डको अन्तरले बाँचेको बताएकी छन् । उनका आँखाअगाडि बजार र वरपरका संरचना बाढीमा बगेका थिए । परिवारसँग उनको पुनर्मिलन तीन दिनपछि भएको थियो ।

दवाडीका लागि त्यो दृश्य केवल विपद्को दृश्य थिएन । त्यो उनले पढाएका, पढिरहेका र आफ्नै सन्तानजस्तै माया गरेका विद्यार्थीहरूको जीवन बचाउने दौड थियो । दवाडीका लागि त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय एउटा सामान्य विद्यालय थिएन । उनी स्वयं यही विद्यालयमा विद्यार्थी भएर पढेका थिए । पछि शिक्षक बने र अन्ततः प्रधानाध्यापकको जिम्मेवारी सम्हाले ।

वर्षौँको सम्बन्ध जोडिएको विद्यालय आफ्नै आँखाअगाडि बाढीले बगाउँदा उनी भावुक भएका छन् । द न्युयोर्क टाइम्ससँग उनले विद्यालय पूर्ण रूपमा बगेको देख्दा आफू अत्यन्त भावुक भएको बताएका छन् । विद्यालयसँग उनका धेरै सम्झना जोडिएका थिए । तर अहिले उनको चिन्ता अर्को छ । ‘हामीले जीवन त जोगायौँ, तर अब यी विद्यार्थीलाई कहाँ पढाउने ?’ विद्यालय छैन । कक्षाकोठा छैनन् । तर विद्यार्थी छन् । र उनीहरूको पढाइ रोक्नु हुँदैन भन्ने चिन्ता दवाडीमा छ ।

एउटा प्रधानाध्यापकको निर्णय, विश्वभर चर्चा

नुवाकोटमा भएको यो घटनाले नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यानसमेत खिचेको छ । द गार्डियनले दवाडीले ९ सय विद्यार्थीलाई बाढी आउनुअघि सुरक्षित स्थानमा पुर्‍याएको घटनालाई प्रमुखताका साथ प्रकाशित गरेको छ । बीबीसीले उनको चारवटा चेतावनी पाएपछि तत्काल विद्यालय खाली गराउने निर्णय र करिब १० मिनेटको समयबारे विस्तृत रिपोर्ट गरेको छ ।

द न्युयोर्क टाइम्सले पनि ‘A Principal Saved 900 Students Before His School Was Washed Away in Nepal’ शीर्षकमा दवाडीको निर्णयलाई केन्द्रमा राखेर समाचार प्रकाशित गरेको छ । त्यस्तै Reuters र Associated Press ले समेत घटनालाई प्रमुखताका साथ प्रस्तुत गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा दवाडीको चर्चा हुनुको कारण विद्यालय बच्नु होइन । विद्यालय त बचेन । चर्चाको कारण हो—विद्यालय बग्नुअघि त्यहाँ रहेका विद्यार्थीहरूलाई बचाउने निर्णय । प्राकृतिक विपद् रोक्ने शक्ति एउटा विद्यालयका प्रधानाध्यापकसँग हुँदैन । तर विपद्को संकेत पाएपछि समयमै निर्णय गर्ने साहस भने हुन्छ । दवाडीले त्यही साहस देखाए । उनीसँग पूर्ण सूचना थिएन । निश्चितता थिएन । समय थिएन । तर एउटा कुरा स्पष्ट थियो—जोखिम लिन सकिँदैन ।

यदि बाढी नआएको भए एक दिनको पढाइ छुट्थ्यो । बाढी आयो भने जीवन जान सक्थ्यो । उनले पहिलो विकल्प रोजे ।

आज त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भवन छैन । त्यहाँका कक्षाकोठा छैनन् । विद्यार्थीहरू पढ्ने ठाउँ छैन । तर सयौँ विद्यार्थी आफ्ना परिवारसँग छन् । उनीहरू फेरि विद्यालय जान पाउनेछन् । सायद नयाँ भवनमा । सायद नयाँ ठाउँमा ।

तर, उनीहरूलाई त्यो मौका मिल्नुको पछाडि एउटा बिहान, केही फोन र एक प्रधानाध्यापकको तत्काल निर्णय छ । बाढीले विद्यालय बगायो । तर राजेन्द्र दवाडीको त्यो निर्णयले सयौँ भविष्य बग्न दिएन ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको