मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको पूर्वसन्ध्यामा सेन्टरमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद कार्यक्रम सम्पन्न भएको हो ।
सेन्टरमा कार्यरत नर्सहरुको आयोजनामा भएको प्रतियोगितामा ७ जना प्रतियोगीले भाग लिएका थिए । जसअन्तर्गत स्वदेशको पक्षमा बोल्ने समूहले प्रथम स्थान हासिल गरेको थियो भने विदेशको पक्षमा बोल्ने समूहले दोस्रो स्थान प्राप्त गरेको थियो । प्रतियोगितामा नर्स बन्दना निरौला, आयुष्मा महर्जन, मधु खतिवडाले स्वदेशको पक्षमा बोलेका थिए भने अस्मिता ढकाल, योजना रेग्मी, टिका मिदुन, रक्षा बरालले विपक्षमा आफ्नाे तर्क प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सेन्टरकी नर्सिङ सह–सहनिर्देशक बिमला न्यौपानेले आफ्नो अनुभव सुनाउँदै सेन्टरले नर्सहरुलाई बेला–बेला विभिन्न कार्यक्रममार्फत पुनर्ताजगी गराइरहेको बताइन् । साथै, मनमोहनका नर्सहरुले जस्तोसुकै बिषम परिस्थितिमा पनि नडगमगाइ काम गरिरहेको समेत उनले बताइन् । ‘भूकम्प होस् या कोरोना महामारी होस् हामी नर्सहरु डगमगाएका छैनौँ हामीले कत्तिपनि विचलित नभइ जिम्मेवारी पूरा गरिरहेका छौँ,’ कार्यक्रममा बोल्ने क्रममा उनले भनिन् ।
त्यस्तै, नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा शुभकामना दिँदै नर्सहरुको वृद्धिविकासमा सरकार र सम्बन्धित सरोकारवाला निकायहरु गम्भीर बन्नुपर्ने बताइन् । ‘सरोकारवाला निकायले नर्सलाई काम गर्ने वातावरण बनाएर उनीहरुको व्यक्तिगत तथा व्यवासायिक विकासमा ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘यो कुरामा मनमोहन पनि गम्भीर बनोस् ।’
पछिल्लो पुस्ताका नर्सहरुमा छोटो समयमा धेरै पैसा कमाऔँ, छिटो माथि पुगौँ भन्ने गलत धारणाका कारण विदेशीने दर बढेको उनले बताइन् । ‘राम्रो परिश्रम गर्ने मानिसले एकदिन पक्कै पनि सफलता हासिल गर्छ भन्ने कुरामा कुनै दुईमत छैन,’ उनले भनिन् । साथै, नेपालको नर्सिङ क्षेत्रमा रहेका विकृति र समस्यालाई सबैजना मिलेर समाधान गर्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा बोल्ने क्रममा त्रिवि शिक्षण अस्पतालकी नर्सिङ इकाइ अध्यक्ष जयन्ती राईले विदेशमात्र नर्सहरुलाई विदेशमात्र नताक्न सुझाव दिइन् । ‘विदेशमात्र ताक्ने होइन स्वदेशमै अधिकार खोजौँ,’ उनले भनिन् । हिजोका दिनमा आफूहरुले बोल्न नसक्दा पीडा भोग्न परेको अनुभव उनले सुनाइन् । ‘हामी सोझो हुँदा पीडा भोग्यौँ,’ उनले भनिन्, ‘अबको पुस्ताले त्यो पीडा भोग्न नपरोस् ।’
सोसाइटी अफ कार्डियो भास्कुलर नर्सेस नेपालकी अध्यक्ष जमुना ताम्राकार सायमीले नर्सहरुलाई स्वदेश तथा विदेश जताततै अवसर रहेको बताइन् । ‘इमान्दार र आफ्नो जिम्मेवारीलाई पूरा गर्ने नर्सहरुलाई जताततै अवसर नै अवसर छ,’ उनले भनिन्, ‘नर्सहरु आफ्नो कर्तव्यपथमा निरन्तर भने लागिरहनुपर्छ ।’
कार्यक्रममा सेन्टरका प्रशासन प्रमुख कृष्णदेव पन्तले नर्सहरुको समस्यालाई अस्पतालले जुनसुकैबेला प्राथमिकतामा राखेर समाधान गर्दै आएको बताए । ‘नर्सहरुका उचित मागलाई हामीले सम्बोधन गर्दै आएका छौँ भोलिका दिनमा पनि गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ उनले भने ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणी गजुरेलले नर्सहरु अस्पतालको मेरुदण्ड भएको बताए । ‘अस्पतालको सेवा कस्तो बनाउने भन्ने कुरा नर्सहरुको हातमा हुन्छ,’ उनले भने, ‘त्यसैले मनमोहनले नर्सहरुलाई सधैं अस्पतालको मेरुदण्ड नै मान्दै आएको छ ।’
कार्यक्रमकी अध्यक्ष एवम् सेन्टरकी नर्सिङ निर्देशक विन्देश्वरी गुरुङले कार्यक्रम सम्पन्न गर्न भूमिका खेल्ने सम्पूलाई धन्यवाद दिएकी थिइन् । साथै, उनले आफ्नो नर्सिङ करिअरका अनुभवसमेत साटासाट गरेकी थिइन् ।
कार्यक्रममा नर्सहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरुसमेत दिएका थिए । विश्वभर मे १२ का दिन विश्व नर्सिङ दिवस मनाइँदै आएको छ ।
ताजा अपडेट
- कक्षा ११ का विद्यार्थीलाई मनास्लु कलेजको अभिमुखीकरण, झण्डै एक हजार विद्यार्थीले रोजे मनास्लु
- ‘न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
- रिलायन्स इन्टरनेशनल एकेडेमीद्वारा २३ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- महानगरले सार्वजनिक गर्यो छात्रवृत्तिको सूची, को विद्यार्थी कुन कलेजमा परे ? (नामावलीसहित)
- ‘एसईईको जीपीएका आधारमा विद्यार्थी छनोट गर्ने सिटिइभिटीको निर्णय वैज्ञानिक र व्यावहारिक छ’’
- त्रिविद्वारा साउन दोस्रो हप्तादेखि स्नातक तह प्रथम सत्रको भर्ना सुरु गर्न क्याम्पसहरुलाई निर्देशन
- २१ साउनअघि विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षक महासंघको ‘अल्टिमेटम’
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया