Techie IT
  • बिहीबार, वैशाख १३, २०८१ / Friday, April 26, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठइन्टरभ्यु‘हाम्रोमा विद्यार्थी भर्नाको मापदण्ड एउटै छ’

‘हाम्रोमा विद्यार्थी भर्नाको मापदण्ड एउटै छ’


डा. राजेन्द्र केसी बसुन्धरास्थित साउथ वेस्ट्रन स्टेट कलेजका प्रिन्सिपल तथा संस्थापक हुन् । ११ वर्ष अघि डा. केसीकै कन्सेप्ट र भिजनमा यो कलेजको स्थापना भएको थियो । पछिल्लो समय विद्यार्थीको रोजाइमा पर्दै आएको यस कलेजमा हरेक भर्ना सिजनमा विद्यार्थीको चाप बढ्छ । यतिबेला कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वले नै महामारी खेपिरहेको अवस्थामा नेपालका निजी शैक्षिक संस्थाहरु चपेटामा परेका छन् । यो विषम परिस्थितीमा साउथ वेस्ट्रन स्टेट कलेजमा विद्यार्थी भर्नाको अवस्था कस्तो छ ? कसरी र कस्ता विद्यार्थी भर्ना लिइरहेको छ ? विद्यार्थी भर्नाका मापदण्ड के छन् ? र, याे विषम परिस्थितीमा सरकारले निजी शैक्षिक संस्थाका लागि के गर्नुपर्ला ? लगायतका समसामयिक विषयमा एजुकेशनसमाचारले डा. केसीसँग गरेको कुराकानी :

यतिबेला साउथ वेस्ट्रन स्टेट कलेजमा विद्यार्थी भर्नाको अवस्था कस्तो छ ?

हाम्रोमा गत सालभन्दा केही फरक छैन । विद्यार्थी भर्नाको चाप उस्तै छ । हामीकहाँ देशभरका ७३ वटै जिल्लाका विद्यार्थीहरु भर्ना हुन्थे । तर, यसपाली काठमाडौं बाहिरका विद्यार्थीहरु एकदमै कम भर्ना भएका छन् । काठमाडौंकै धेरै विद्यार्थी हाम्रो कलेजमा भर्ना भएका छन् । तैपनि हाम्रो क्षमता र आवश्यकता अनुसार गत वर्ष जस्तै विद्यार्थी भर्ना भैरहेका छन् । त्यसैले कोरोनाले विद्यार्थी भर्नामा हामीलाई कुनै असर गरेन ।

यसवर्ष एसईई परीक्षाको नतिजा फरक तरिकाले सार्वजनिक भयो, तपाईंहरुले विद्यार्थी मुल्यांकनमा कस्तो मापदण्ड अपनाउनुभयो ?

विगतका वर्षहरुमा जीपीए ४ ल्याउने विद्यार्थीहरु १ सय देखि २ सयको बीचमा हुन्थे । तर यसवर्ष १० हजारको हाराहारीका विद्यार्थीको ४ जीपीएको आएको छ । त्यसैले यसपाली विद्यालयहरुले जुन खालको अंक दिए त्यो पारदर्शी भएन भन्ने मेरो पनि धारणा हो । हाम्रो विद्यार्थी भर्नाको एउटै मापदण्ड छ । हामीले ३.४ जीपीए भन्दा कम जीपीए ल्याएका विद्यार्थीलाई भर्ना लिँदैनौंँ । त्यो भन्दा माथिका जीपीए ल्याएका विद्यार्थीहरुको आन्तरिक परीक्षा र अन्तर्वार्ता लिन्छौं । यसैको आधारमा विद्यार्थी भर्ना गरिरहेका छौं ।

कुन संकायमा कति विद्यार्थी लिने लक्ष्य राखिएको छ ?

हाम्रो फिक्स नै छ । हामीले १० वटा सेक्सन साइन्समा, १५ वटा सेक्सन म्यानेजमेन्टमा र एउटा सेक्सन मानविकीका लागि तय गरेका छौं । अहिलेसम्म ९ वटा सेक्सन साइन्स र ११ वटा सेक्सन म्यानेजमेन्टका लागि विद्यार्थी भर्ना भैसकेका छन् । हाम्रोमा मानविकीमा विगतदेखि नै कम विद्यार्थी भर्ना हुन्थे । यसपाली पनि ११, १२ जना विद्यार्थी मानविकी संकायमा भर्ना भएका छन् । यस्तै, साइन्समा ४ सय सीट तय गरेका छौं जसका लागि हालसम्म ३ सय ६० जना विद्यार्थी भर्ना भैसकेका छन् । यस्तै म्यानेजमेन्टमा ६ सय सीट तय भएका छन् जसमा हालसम्म ४ सय ५० भन्दा बढी विद्यार्थी भर्ना भैसकेका छन् ।

कक्षा संचालन कसरी गर्ने तयारीमा हुनुहुन्छ ?

अनलाइनमार्फत अध्यापन गराइरहेका छौं । कक्षा सुरु भैसकेको छ । जो जहाँ भएपनि इन्टरनेटको माध्यमबाट विद्यार्थीले शिक्षा लिइरहेका छन् । अनलाइनमार्फत पढाइको अलवा विभिन्न अतिरिक्त क्रियाकलाप पनि गराइरहेका छौं । कतिपय विद्यार्थी र अभिभावकहरुमा अनलाइनबाट पढाई हुने भनेपछि धेरै गाह्रो हुने हो या अप्ठेरो पो पर्ने हो कि भन्ने सोचाइ छ । तर, हाम्रा शिक्षकहरु विगतका वर्षहरुदेखि नै प्रविधिमैत्री भएका कारण उहाँहरुमा कुनै समस्या छैन । त्यसैले सहज रुपमा विद्यार्थीहरुलाई अनलाइनमार्फत अध्यापन गराइरहनुभएको छ । त्यसैले हाम्रा विद्यार्थीहरुले सिभिल एजुकेशन, करियर काउन्सिलदेखि हरेक कुरा अनलाइनबाटै पढ्न पाउँछन् । आजसम्म हामीमा शिक्षा भनेको फेस टु फेस शिक्षकले पढाउने, नोट लेखाउने, होमवर्क दिने भन्नेमात्र बुझाई थियो । त्यसैले अनलाईन शिक्षालाई विकल्पको रुपमा लिनुपर्छ ।

अनलाइन कक्षा सञ्चालन गर्न कस्ता समस्या आउँदा रहेछन् ?

साउथ वेस्ट्रन स्टेट कलेज स्थापना कालदेखि नै पेपरलेस हुनुपर्छ भन्ने मान्यता राख्दै आएका छ । त्यसैले अनलाइन प्रविधि हाम्रा लागि नौलो होइन । जसले अफलाइन मै काम गर्यो उसका लागि यो यो नयाँ भयो । हाम्रा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि पनि नयाँ भयो तर हाम्रा फ्याकल्टिजहरुका लागि भने हो कुनै नौलो होइन । त्यसैले हामीलाई अनलाइन कक्षा सञ्चालन गर्न समस्या छैन ।

अहिले कक्षा ११ भर्नाको सिजन चलिरहेको बेला विद्यार्थीलाई के सुझाव दिनुहुन्छ ?

अहिलेका विद्यार्थीहरुलाई सबै थाहा छ । कुन कलेज छान्ने, कस्तो कलेज छान्ने, कस्तो जनशक्ति भएको कलेज छान्ने भन्ने कुरा विद्यार्थीहरुलाई भनिरहन पर्दैन । किनभने आजका विद्यार्थीहरु प्रविधिसँग घुलमिल हुन सिपालु छन् । त्यसैले सूचना प्रविधि उनीहरुलाई राम्रोसँग थाहा छ । त्यसैले भर्ना हुने विषयमा मैले धेरै सुझाव दिनुपर्ने छैन । तर सर्सर्ती भन्नुपर्दा कलेज छान्दा भुकम्प प्रतिरोधी भवन हुनुपर्यो, राम्रा फ्याकल्टीज भएको कलेज छान्नुपर्यो, राम्रो गुडविल भएको कलेज छान्नुपर्यो, विगतमा त्यो कलेजको नतिजा कस्तो छ त्यो हेर्नुपर्यो । साथै रिडिङ, राइटिङ र लेक्चर विधिमात्र नभइकन सिभिल एजुकेशन, क्रियटिभ कुराहरु सिक्ने, आफूमा कन्फिडेन्ट डेभलप गर्ने, राष्ट्रिय अन्तराष्ट्रिय भ्रमणका देखि लिएर सबै अतिरिक्त क्रियाकलापमा समेत ज्ञान राख्ने र इच्छा राख्ने कलेज छान्नका लागि सूझाव दिन्छु ।

विद्यार्थीले विषय रोज्दा कुन कुन विषयमा ख्याल गर्नुपर्छ ?

विषय छान्ने बारेमा म आफैं दुविधामा छु । अहिले नेपालको सन्दर्भमा कुन विद्यार्थीले कुन विषय छान्ने ? के अप्सन छ ? मैले त अप्सन नै देख्दिनँ । किनभने अहिले विद्यार्थीका लागि साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज बाहेक अरु विकल्प छैन । अब यहाँ २, ४ दर्जन अप्सन भैरदिएको भए हामीले भन्न हुन्थ्यो । साइन्स पढेर डाक्टर, इन्जिनियर बन्ने, म्यानेजमेन्ट पढेर म्यानेजर बन्ने या सिए बन्ने, अब ह्युम्यानिटिज पढेर आफ्नो विषयअनुसारको काम छान्ने भन्ने छ । त्यसैले सबैभन्दा पहिला यो देशको सरकारले विद्यार्थीलाई विषय छान्नका लागि च्वाइस दिनुपर्यो । त्यसपछिमात्र जति पनि अध्ययनका सिलसिलामा विद्यार्थीहरु बाहिरी देशहरुमा गैरहेका छन् । अनि मात्र ती विद्यार्थीहरु देशमै रोकिन्छन् । अहिले विषयको अप्सन नभएकै कारण विद्यार्थीहरु अन्य राष्ट्रमा पलायन भैरहेका छन् । हाम्रो सरकार अहिले पनि कहाँनिर दुविधामा छ भने, राम्रा पढ्ने विद्यार्थीहरु साइन्स पढ्छन् भन्ने भ्रममा छ । यो आजभन्दा ५०/६० वर्ष पहिलाको फोबिया हो । किनभने त्यहि ५०/६० वर्ष पहिलाका मान्छेले यो देशमा राज्य सञ्चालन गरिरहेको छ । उहाँहरुलाई राम्रो पढ्ने भनेको डाक्टर इन्जिनियर नै हो भन्ने छ । तर, डाक्टर इन्जिनियर मात्र होइन देशको स्रोत साधन र सम्भावनाका आधारमा विषय बनाउनुपर्छ । त्यसैले विषय छनोटका विषयमा मैले विद्यार्थीलाई केही सुझाव दिन्न । अहिले विद्यार्थी नै बुझ्ने भैसकेका छन् । पहिला राम्रो पढ्ने विद्यार्थी साइन्समा भर्ना हुन्थे अहिले हाम्रो कलेजमा जीपीए ४ ल्याउने विद्यार्थी म्यानेजमेन्ट, ह्युम्यानिटिजमा भर्ना भैरहेका छन् ।

साउथ वेस्ट्रनका विशेषता के–के हुन् ?

हामीले यहाँका शिक्षकलाई कलेजमा इन्ट्री हुने बित्तिकै तालिम दिन्छौं । शिक्षकहरुलाई नेपाल सरकारले दिएको पाठ्यक्रममा मात्र आधारित नभएर अरिरिक्त कुराहरु गर्नुपर्छ भन्छौं । ग्लोबल सोसाइटीमा टिचिङ एण्ड लर्निङको मोडालिटी अनुसार मिल्ने तरिकाले हामीले अध्यापन गराउनुपर्छ भनेर शिक्षकहरुलाई सिकाएका छौं । अर्को कुरा हाम्रो कलेजबाट अध्ययन गरिसकेर बाहिरिने विद्यार्थीलाई आत्मविश्वासका साथ काम गर्न, कुरा गर्न, बोल्न सक्ने बनाउँछौं । साथै, हाम्रो कलेजमा पढेका विद्यार्थीहरु विदेशका कुनैपनि युनिभर्सिटीमा जाँदा हाम्रो टिचिङ मेथोलोजी त्यहाँको युतिभर्सिटीहरुसँग मिल्दोजुल्दो छ । यस्तै हामी विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय भ्रमण गराउँछौं । हामी आइएसओ सर्टिफाइड भएको कलेज पनि हांै । जसले गर्दा इन्टरनेशनल स्ट्यान्डर्ड अर्गनाइजेसनको जुन मापदण्ड छ त्यही अनुसार नै काम गर्छौँ । जसले हाम्रा विद्यार्थीहरुमा अरु देशका युनिभर्सिटीमा जाँदा कन्फ्युज नहोस् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट