Techie IT
  • बुधबार, साउन २, २०८१ / Wednesday, July 17, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारनेपालका २५ अब्बल माविहरू (भिडियोसहित)

नेपालका २५ अब्बल माविहरू (भिडियोसहित)


काठमाडौं– मुलुकभर कक्षा ११ र १२ को अध्यापन गराउने ५ हजारभन्दा बढी माविहरु छन् । राष्ट्रिय परीक्षा बोर्डले पछिल्ला वर्षहरुमा परीक्षा प्रणालीमा नयाँपन दिदैं आएको छ । केही वर्षयता ग्रेडिङ प्रणालीमा रिजल्ट प्रकाशित गरिरहेको वोर्डले वि.सं. २०७९ को रिजल्टमा ‘नन ग्रेडिङ प्रणाली’ लागु गरेको छ । कक्षा ११ को परीक्षा माविहरुलाई आन्तरिक रुपमै संचालन गर्ने अधिकार दिइएको छ भने १२ कक्षालाई परीक्षा मात्रै वोर्डले संचालन गर्छ ।

एजुकेशन समाचारले राष्ट्रिय परीक्षा बोर्डले नन ग्रेडिङ प्रणाली लागु गरेपछिको कक्षा १२ को रिजल्टलाई अब्बल माविहरु छनोटको प्रमुख आधार बनाएको छ । रिजल्टसँगै लगातार पछिल्ला दुई वर्षमा ४ सय ८० विद्यार्थी परीक्षामा सहभागी गराउने मावि, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, बोर्डबाट पाएको उत्कृष्ट माविको पुरस्कार, कक्षा ११ र १२ पढाउने अनुमति पाएको वर्ष र पिपुल्स पर्सेप्सनलाई अब्बल मावि छनोटका आधार बनाइएको छ ।

कक्षा ११ को परीक्षा होम सेन्टरका रुपमा कलेजमै संचालन हुने भएकाले त्यसलाई आधार बनाइएको छैन । सुरुमा कक्षा १२ मा लगातार दुई वर्ष ४ सय ८० भन्दा बढी विद्यार्थीलाई परीक्षामा सहभागी गराउने माविहरुलाई छनोट गरियो । कक्षा १२ मा दुई वर्षमै ४ सय ८० भन्दा कम विद्यार्थी बोर्डको परीक्षामा सहभागी गराएका माविलाई यो मापदण्डमा परेका छैनन् ।

त्यसबाट सर्टलिष्ट भएर आएका ११९ माविहरुलाई प्रतिस्पर्धा गराएर दुई वर्षको उत्कृष्ट रिजल्टका आधारमा अब्बल २५ माविहरु छनोट गरियो । ती ११९ माविबाट कक्षा १२ को नतिजामा ‘३.६१–४ जीपीएदेखि १.६१–२ जीपीएस’ ल्याउने विद्यार्थीहरू यो मुल्यांकनको प्रमुख आधार हुन् । समग्र विद्यार्थीबाट ‘नन ग्रेडिङ’ ल्याउने (जसलाई बोर्डले ट्रान्सक्रिप्ट दिदैंन)हरूलाई घटाएपछि प्राप्त संख्याबाट नै प्रत्येक माविको कक्षा १२ को नतिजा प्रतिशतमा निकालिएको हो । रिजल्ट प्रतिशतमा निकाल्दा पास भएका विद्यार्थीको संख्यालाई जम्मा विद्यार्थी संख्याले भाग गरेर त्यसलाई १०० ले गुणन गरिएको छ ।

सुरुमा ४ सय ८० बढी विद्यार्थीलाई पहिलो मापदण्ड बनाइयो । त्यसबाट सर्टलिष्ट गरेर आएका ८० माविहरुमध्ये उत्कृष्ट रिजल्ट ल्याएका टप ट्वान्टी फाइभ अब्बल माविहरु छनोट गरियो । शीर्ष २५ मा रहेका माविहरुलाई भौतिक पूर्वाधार, पिपुल्स पर्सेप्सन, अतिरिक्त क्रियाकलाप, राष्ट्रिय परीक्षा बोर्डले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट मावि एवार्ड, प्लस टु अध्यापन गराउन थालेको वर्षमा प्रतिस्पर्धा गराइएको थियो । जसमा रिजल्टलाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई ४—४ प्रतिशतमा मार्किङ गरेर सबै जोडेर कुल अंकमा आधारमा टपटेन र ट्प ट्वान्टी फाइभको सूची तयार पारिएको हो ।

१. प्रसादी एकेडेमी सेकेण्डरी स्कुल, ललितपुर

‘सधैं अब्बल’ ललितपुर मानभवनस्थित प्रसादी एकेडेमीको पहिचान नै बनिसकेको छ । हरेक वर्ष अब्बल माविको सूचीमा पहिलो नम्बरमा रहँदैं आएको यो मावि यस पटक पनि पहिलो नम्बरमै छ । निरन्तर अब्बल माविमा टिकिरहनुको प्रमुख कारण प्रसादीको ‘एकल कार्यक्रम, एकल व्यवस्थापन’को नीति भएको माविका प्राचार्य विक्रम राई बताउँछन् ।

सिमित भर्ना, अनुभवी शिक्षकबाट पठनपाठन र विद्यार्थीको शैक्षिक उन्नयमा बढी फोकस हुनुसँग प्रसादीको सफलताको जोडिएको छ । विद्यार्थीमैत्री वातावरण, अनुशासनजस्ता कुराहरुले पनि प्रसादीको नतिजालाई सधैं अब्बल बनाउन भूमिका खेलेका छन् । २७ वर्षदेखि ११ र १२ कक्षा मात्रै पढाइरहेको प्रसादीले लगातार पाँच पटक उत्कृष्ट उच्च माविको पुरस्कार पाएको छ ।

सिट संख्या
विज्ञानः ६ सय ५०
व्यवस्थापनः १ सय

शुल्क 
विज्ञान
पहिलो स्टलमेन्टः ५५ हजार रुपैयाँ
दोस्रो स्टलमेन्टः ३५ हजार रुपैयाँ
तेस्रो स्टलमेन्टः ३० हजार रुपैयाँ
चौथो स्टलमेन्टः २५ हजार रुपैयाँ

व्यवस्थापन
पहिलो स्टलमेन्टः ३५ हजार रुपैयाँ
दोस्रो स्टलमेन्टः २० हजार रुपैयाँ
तेस्रो स्टलमेन्टः १९ हजार रुपैयाँ
चौथो स्टलमेन्टः १५ हजार रुपैयाँ

२. सेन्ट जेभियर्स, काठमाडौं

कक्षा ११ र १२ अध्यनका लागि विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाइमा पर्ने मावि हो–माइतीघरस्थित सेन्ट जेभियर्स मावि । विज्ञान संकाय मात्र पढाइ हुने यो माविलाई पढाइको वातावरण, कम विदा, उच्चस्तरका फ्याकल्टीजस्ता कारणले अब्बल बनाएको छ ।

आधुनिक प्रयोगशाला, तीन–तीन महिनामा हुने परीक्षाले पनि विद्यार्थीलाई पढाइमा उत्प्रेरित गर्ने गर्छ । पाठ्यक्रममा विषयवस्तुका अलावा अतिरिक्त क्रियाकलापमा पनि सेन्ट जेभियर्सले उत्तिकै जोड दिदैं आएको छ । १५ वर्षदेखि ११ र १२ कक्षालाई अध्यापन गराउने कान्छो अब्बल मावि भएपनि सेन्ट जेभियर्सले राष्ट्रिय परीक्षा बोर्डबाट उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
विज्ञानः ५ सय
(बायोलोजीः ३ सय ३४/फिजिक्स : १ सय ६६)

वार्षिक शुल्क
१ लाख ७१ हजार रुपैयाँ

३. काठमाडौं मोडल सेकेण्डरी स्कुल, काठमाडौं 

हरेक वर्ष सयौं विद्यार्थीको रोजाइमा पर्दै आएको मावि हो– काठमाडौं मोडल सेकेण्डरी मावि । स्कुलका प्रिन्सिपल डा. नगेन्द्र अर्याल अब्बल नतिजा, उत्कृष्ट शिक्षण सिकाइ र अनुशासित वातावरणले नै केएमसी विद्यार्थीको आकर्षणको केन्द्रबिन्दु बनिरहेको बताउँछन् ।

गुणस्तरीय शिक्षा, शैक्षिक अनुशासन, अनुभवी र योग्य शिक्षकलगायतका कुराले माविलाई सधैँ अब्बल बनाएको अर्याल बताउँछन् । ‘सक्षम व्यवस्थापकीय पक्ष, समय सान्दर्भिक भौतिक पूर्वाधार एवं शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि मल्टिमिडिया प्रणाली प्रयोग गरिएको छ,’ अर्यालले भने । विद्यार्थीको रुचिलाई ध्यान दिएर प्रयोगात्मक शिक्षा उपलब्ध गराउनु नै यो माविको सफलताको रहस्य हो ।

२५ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराइरहेको काठमाडौं मोडेल सेकेण्डरी स्कुलले २ पटक उत्कृष्ट माविको पुरस्कार हात पारेको छ । अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राख्दै आएको केएमसीले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा समेत विशेष ध्यान दिँदै आएको छ । यसैव वर्षबाट माविले ‘डिजिटल केएमसी’ समेत लञ्च गरेको छ । जसमा शिक्षकहरुले भिडियो रेकर्ड गरी विभिन्न प्लेटफर्मममा राख्छन् । विद्यार्थीहरुले आफूलाई परेको समस्याका बारेमा उक्त प्लेटफर्ममार्फत समाधान खोज्न सक्ने उनले बताए ।

सिट संख्या
विज्ञानः १ हजार ३ सय
व्यवस्थापनः ४ सय ५०
कानुनः ५०

भर्ना शुल्क
विज्ञानः ६२ हजार ५ सय रुपैयाँ
व्यवस्थापनः ४२ हजार ५ सय रुपैयाँ
कानुनः ४२ हजार ५ सय रुपैयाँ

मासिक शुल्क 
विज्ञानः ९ हजार ६ सय रुपैयाँ
व्यवस्थापनः ७ हजार ६ सय रुपैयाँ,
कानुनः ७ हजार रुपैयाँ ६ सय रुपैयाँ

अन्य शुल्क 
विज्ञानः २० हजार रुपैयाँ
व्यवस्थापनः १५ हजार
मानविकीः १५ हजार रुपैयाँ
कानुनः १५ हजार रुपैयाँ

४. ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौं

दक्ष, अनुभवी तथा पूर्णकालीन शिक्षक, प्रयोगात्मक शिक्षण सिकाइ, अतिरिक्त क्रियाकलापमा जोडजस्ता कुराले मध्यबानेश्वरस्थित ग्लोबल कजेज अफ म्यानेजमेन्ट नतिजामा सधैं अब्बल बन्दै आएको छ । व्यवस्थापन र विज्ञान विषय अध्यापन गराउँदै आएको यो मावि पछिल्लो समय देशभरकै विद्यार्थीहरुको रोजाइमा पर्दै आएको छ ।

विद्यार्थी भर्नामा आफ्नै मापदण्ड, सिकाइमा फरक शैली, विद्यार्थीको नियमित मूल्यांकन, अनुशासित वातावरणजस्ता कारणले पनि नतिजामा सहयोग गरिरहेको कलेजका प्रिन्सिपल अम्बादत्त जोशी बताउँछन् । ‘हामीले पढाइका साथसाथै सीसीए र ईसीएलाई गज्जबले संयोजन गरेर लगेका छौं,’ जोशीले भने, ‘हाम्रो स्ट्रेन्थ नै यही हो ।’ दुई वर्ष अघिदेखि विज्ञान संकायमा पनि अध्ययन गराइरहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टको १६ रोपनी जग्गामा आफ्नै अत्याधुनिक संरचनामा कलेज छ । यो पनि कलेजको अर्को बलियो पक्ष हो । १४ वर्षदेखि कक्षा ११ र १२ मा अध्यापन गराइरहेको ग्लोबलले अहिलेसम्म उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
व्यवस्थापनः ८ सय
विज्ञानः ७ सय

भर्ना शुल्क
व्यवस्थापनः २० हजार रुपैयाँ
विज्ञानः २० हजार रुपैयाँ

मासिक शुल्क
व्यवस्थापनः १५ हजार रुपैयाँ
विज्ञानः १५ हजार रुपैयाँ

वार्षिक शुल्क
व्यवस्थापनः ९० हजार रुपैयाँ
विज्ञानः १ लाख ५ हजार रुपैयाँ

५. रिलायन्स इन्टरनेशनल एकेडेमी, काठमाडौं

काठमाडौंको चाबहिल सरस्वतीनगरमा रहेको रिलायन्स इन्टरनेशनल स्कुल उत्कृष्ट माविमा पर्छ ।  वि.सं. २०६० सालमा स्थापित भएको यो स्कुल अब्बल हुनुका पछाडि दक्ष शिक्षक र कुशल व्यवस्थापनक नै हो । स्थापनाकालदेखि नै अध्यापन गराउँदै आएका शिक्षकहरु भएकाले शिक्षण सिकाइ क्रियाकलापलाई परिस्कृत गर्दै लैजान सहज भएको स्कुलका प्रिन्सिपल रवीन्द्रजंग थापा बताउँछन् । यसका साथै, विद्यार्थीहरुलाई केन्द्रमा राखेर कक्षाहरु लिइने भएकाले रिलायन्सले उत्कृष्ट नतिजा दिँदै आएको उनको दाबी छ । रिलायन्सले विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा काउन्सिल गर्ने, समस्या चिन्ने र बुझ्ने खालको वातावरण निर्माण गर्दै आएको छ । शिक्षण सिकाइमा समानता र समरुपतालाई प्राथमिकता दिने गरेको रिलायन्सले विद्यार्थीको पहिचान गरी सोही अनुसारको पठनपाठन गर्दै आएको थापा बताउँछन् । ‘हामीले विद्यार्थीको क्षमता पहिचान गरेर अतिरिक्त कक्षाहरु पनि सञ्चालन गर्दै आएका छौँ,’ उनले भने, ‘कमजोर विद्यार्थीहरुलाई बेग्लै राखेर कक्षा लिन्छौँ, राम्रा विद्यार्थीलाई अझै राम्रो बनाउनका लागि समुहगत छलफल गराउँछौँ ।’

रिलायन्सले पढाइका साथै अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिँदै आएको छ । माविले आन्तरिक र बाह्य रुपमा गर्ने विभिन्न प्रकारका प्रतियोगिताले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न सहयोग गरिरहेको थापा बताउँछन् । यस्तै, माविले रिलायन्स कल्चरल डिपार्टमेन्टको स्थापना गरेर विद्यार्थीको चरित्र निर्माणमा विशेष ध्यान दिँदै आएको छ । प्रिन्सिल थापाकाअनुसार आउटडोर प्रोजेक्ट वर्क, भिजिटिङ क्लास, को–करिकुलम एक्टिभिटिज गर्दै जस्ता कार्य पनि माविले गर्दै आएको छ । २० वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराइरहेको रिलायन्सले २ पटक उत्कृष्ट माविको पुरस्कारसमेत प्राप्त गरेको छ । भौतिक पूर्वाधारमा सुविधासम्पन्न भवन, लाइबे्ररी, ल्याब, गाडी, होस्टेल व्यवस्थासमेत माविले गरेको छ ।

सिट संख्या
विज्ञानः ३२०
म्यानेजमेन्टः ६४०

भर्ना शुल्क
विज्ञानः १२०००
व्यवस्थापनः १४०००

मासिक शुल्क 
विज्ञानः ७,०००
व्यवस्थापनः ६,०००

६. नेशनल इन्फोटेक सेकेण्डरी स्कुल, पर्सा 

काठमाडौं उपत्यका बाहिरका माविहरुमा पर्साको नेशनल इन्फोटेक सेकेण्डरी स्कुल अब्बल दर्जामा पर्छ । विज्ञान विषयमात्र अध्यापन गराउने यस माविले हरेक वर्ष उत्कृष्ट नतिजा दिँदै आएको छ । वि.सं. २०६० सालबाट कक्षा ११ र १२ को पठनपाठन सुरु गरेको यस विद्यालयमा फरक ढंगबाट पढाइ हुने भएकाले हरेक वर्ष यहाँ भर्नाका बेला ठूलो भीड लाग्छ ।

दक्ष शिक्षक शिक्षिका, प्रविधिमैत्री कक्षाकोठा, गुणस्तरीय प्रयोगशाला, विद्यार्थी केन्द्रीत पढाइजस्ता कुराले नै नतिजामा अग्रस्थानमा रहन सहयोग गरेको स्कुलका प्रिन्सिपल मनिष सिंह बताउँछन् । ‘हामीले विद्यार्थी भर्ना गरिसकेपछि कक्षा सुरु हुनुभन्दा अघि विद्यार्थीको क्षमता मूल्यांकन गर्छौँ,’ उनले भने, ‘त्यसपछि उनीहरुको सिकाइलाई कसरी सुधार गर्न सकिन्छ, त्यही अनुसारको योजना बनाएर अघि बढ्छौँ ।’ कमजोर विद्यार्थीहरुलाई बेग्लै राखेर सुरुबाटै निःशुल्क कोचिङ कक्षा, हरेक हप्ताको शुक्रबार टेष्ट सञ्चालन गर्ने गरिएको सिंह बताउँछन् । आफ्नै भवनमा सञ्चालित नेशनल इन्फोटेकले कक्षा ११ देखि नै प्रि मेडिकल र प्रि इन्जिनियरिङका कक्षाहरु सञ्चालन गर्दै आएको छ । यसैगरी, माविले व्यक्तिगत रुपमा विद्यार्थीलाई हेरेर उसको मुल्यांकनका आधारमा शिक्षक र पढाइ केन्द्रीत गर्ने गर्छ ।

सिट संख्या 
विज्ञानः ६००

वार्षिक शुल्क 
विज्ञानः १ लाख १० हजार रुपैयाँ

७. ज्ञानज्योति सेकेण्डरी स्कुल, दाङ

पश्चिम नेपालको दाङ तुलसीपुरस्थित ज्ञान ज्योति सेकेण्डरी स्कुल मोफसलमा रहेर अब्बल सूचीमा दरिन सफल छ । कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक शिक्षिका र विद्यार्थी क्षमतामा प्रस्फुटनमा जोड दिनुजस्ता कारणहरु रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र जिसीको बताउँछन् । ‘हामी विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापमा निकै सचेत छौँ,’ जिसीले भने, ‘त्यसैको प्रतिफल नै नतिजामा देखिएको हो ।’

सुविधासम्पन्न भौतिक पूर्वाधार, पढाइमैत्री शान्त वातावरण, स्तरीय ल्याब तथा लाइब्रेरी यस विद्यालयका थप विशेषता हुन् । यी र यस्तै कारण पश्चिम नेपालका विद्यार्थी तथा अभिभावकको रोजाइको शैक्षिक केन्द्र ज्ञानज्योति बन्दै आएको छ । ‘हामी अहिले जुन स्थानमा छौं, त्यो भनेको विद्यार्थीको मेहेनत र अभिभावकको विश्वास नै हो,’ जिसीले थपे, ‘यो विश्वासलाई निरन्तरता दिने बाटोमा हामी निरन्तर लागिरहेका छौँ ।’ वि.सं. २०६५ सालबाट कक्षा ११ र १२ को कक्षा सुरु भएको यस माविमा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षा संकायमा पढाइ हुन्छ ।

सिट संख्या
विज्ञानः २ सय ५०
व्यवस्थापनः ६ सय २०
मानविकीः ४०
शिक्षाः ४०
कानुनः ४५

भर्ना शुल्क
विज्ञानः १२ हजार रुपैयाँ
व्यवस्थापनः ८ हजार रुपैयाँ
मानविकीः ४ हजार रुपैयाँ
शिक्षाः ४ हजार रुपैयाँ
कानुनः १० हजार रुपैयाँ

मासिक शुल्क
विज्ञानः ४ हजार २ सय रुपैयाँ
व्यवस्थापनः ३ हजार ६ सय रुपैयाँ
मानविकीः ३ हजार
कानुनः ३ हजार
शिक्षाः ३ हजार

वार्षिक शुल्क
विज्ञानः २५ हजार रुपैयाँ
व्यवस्थापनः १५ हजार
मानविकीः १० हजार रुपैयाँ
कानुनः १० हजार रुपैयाँ
शिक्षाः १० हजार रुपैयाँ

८. पिनाकल एकेडेमी सेकेण्डरी स्कुल, ललितपुर

नेपालका कलेजहरुको भीडमा उत्कृष्ट मावि हो– पिनाकल एकेडेमी । घोकन्तेभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिँदै आएको यस विद्यालयले हरेक वर्ष विद्यार्थी भर्नामा विशेष होसियारी अपनाउँछ । मेहनती विद्यार्थीको मुल्यांकन गरेरमात्र भर्ना लिने भएकाले अहिलेसम्म राम्रो नतिजा ल्याउन सफल भएको यस विद्यालयका डा. ऋषिराम तिवारी बताउँछन् । ‘हामी विद्यार्थीको पढाइमात्र होइन्, करियर काउन्सिलिङमा पनि विशेष ध्यान दिन्छौं,’ उनले भने, ‘विद्यार्थीलाई घोकन्तेभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिँदै आएका छौं ।’

विगत २७ वर्षयता कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउँदै आएको यस विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी र कानुनअन्तर्गत विषयका कक्षा सञ्चालन गराउँदै आएको छ । यसैगरी, यस विद्यालयले विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिम तथा गोष्टीहरुमा समेत समावेश गराउँदै आएको छ । यसका अलवा उपयुक्त शिक्षण सिकाइ, २७ वर्षको शिक्षण अनुभव, दक्ष शिक्षक शिक्षिका, विद्यार्थी मूल्यांकन, आवश्यक विद्यार्थीलाई अतिरिक्त कक्षा, वैयक्तिक काउन्सिलिङलगायतका कुराले पिनाकल अब्बलताको सूचीमा छ ।

सिट संख्या 
विज्ञानः ३ सय
व्यवस्थापनः ४ सय ५०
मानविकीः ५०
कानुनः ५०

भर्ना शुल्क
विज्ञानः २० हजार रुपैयाँ
व्यवस्थापनः १५ हजार रुपैयाँ
मानविकीः १५ हजार रुपैयाँ
कानुनः १५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञानः ५ हजार ५ सय रुपैयाँ
व्यवस्थापनः ५ हजार रुपैयाँ
मानविकीः ५ हजार रुपैयाँ
कानुनः ५ हजार रुपैयाँ

अन्य शुल्क 
विज्ञानः ३० हजार रुपैयाँ
व्यवस्थापनः २१ हजार रुपैयाँ
मानविकीः ६ हजार रुपैयाँ
कानुनः ६ हजार रुपैयाँ

९. टेक्सास इन्टरनेशनल सेकेण्डरी स्कुल, काठमाडौं 

चावहिल मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल स्कुलले आफूलाई अब्बल माविको सूचीमा कायमै राखेको छ । नियमित मेहनेत, अतिरिक्त कक्षा, विद्यार्थीको निगरानी, नियमित परीक्षण नै टेक्सासको उत्कृष्ट नतिजाको राज हो । वि.सं. २०६६ सालबाट कक्षा ११ र १२ को अध्ययन अध्यापन सुरु गरेको यस माविमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको पढाइ हुन्छ ।

उत्कृष्ट भौतिक पूर्वाधार, आफ्नै रिसर्च लर्निङ एण्ड डेभलेपमेन्ट सेन्टर, टेक्सास इन्कुवेसन सेन्टर टेक्सासका स्ट्रेन्थ प्वाइन्ट हुन् । त्यस्तै, प्राक्टिकल एक्स्पोजर, वार्षिक इसीए मिट, करिअर फेयर, साइन्स एण्ड आइटी एक्स्पो टेक्सासले विद्यार्थी लक्षित गर्ने विभिन्न कार्यक्रमहरु रहेको विद्यालयक प्रिन्सिपल श्याम श्रेष्ठ बताउँछन । ‘शिक्षक, विद्यार्थी र व्यवस्थापनको साझा प्रयास नै हाम्रो अब्बल नतिजाको मुख्य कारण हो’ श्रेष्ठ भन्छन्, ‘अभिभावकहरुको प्रेरणाले पनि यसमा काम गरेको छ ।’

सिट संख्या 
विज्ञानः ७ सय २०
व्यवस्थापनः ७ सय २०
मानविकीः १ सय २०
कानुनः ४५

भर्ना शुल्क
विज्ञानः १५ हजार रुपैयाँ
व्यवस्थापनः १५ हजार रुपैयाँ
मानविकीः १५ हजार रुपैयाँ
कानुनः १५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञानः  ६ हजार रुपैयाँ
व्यवस्थापनः ५ हजार रुपैयाँ
मानविकीः ४ हजार रुपैयाँ
कानुनः ४ हजार रुपैयाँ

वार्षिक शुल्क
विज्ञानः १५ हजार रुपैयाँ
व्यवस्थापनः १५ हजार रुपैयाँ
मानविकीः १५ हजार रुपैयाँ
कानुनः १५ हजार रुपैयाँ

१०. सेन्ट लरेन्स सेकेण्डरी स्कुल, काठमाडौं 

‘मौलिक सिर्जनशील शिक्षा, आजको युगको आवश्यकता’ भन्ने आदर्शलाई आत्मसाथ गर्दै सबै वर्गका विद्यार्थीलाई स्तरीय शिक्षा प्रदान गर्दै आएको एउटा उत्कृष्ट शैक्षिक संस्था हो—सेन्ट लरेन्स कलेज । विश्व बजारमा प्रतिस्पर्धा गर्नुपर्ने भएकोले पाठ्यक्रममा निर्धारित पाठ पढाउनु घोकाउनुले मात्र आफूहरुको उद्देश्य नभएको कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदी बताउँछन् । ‘घोकाउने शिक्षाले मात्रै आजको उद्धेश्य र आवश्यकता पूरा हुन सक्दैन्,’ उनी भन्छन्, ‘त्यसैले कक्षागत सिकाइ प्रविधिमैत्री सिर्जनशील तथा विभिन्न अतिरिक्त क्रियाकलापमा सरिक बनाई आत्मविश्वास जगाउने खालको शिक्षा हामीले प्रदान गर्दै आएका छौं ।’

पाठ्यक्रममा आधारित शिक्षण सिकाइ, अतिरिक्त क्रियाकलाप, शोधमूलक क्रियाकलाप÷सिर्जना तथा आविष्कार, क्षमता पहिचान तथा दिशा निर्देश र अभिभावकसँग अन्तक्रियालाई यो माविले सिकाइको प्रमुख आधार बनाउँदैं आएको छ । ६ वटा आन्तरिक परीक्षा संचालन गर्ने सेन्ट लरेन्सले सीप र नेतृत्व विकासमा जोड दिदैं आएको छ । कलेजमा स्पोर्टस, लिटरेचर, साइन्स एण्ड आईटी, आर्टस् एण्ड क्रियटिभ, सोसललगायतका १० वटा क्लब छन् भने प्रत्येक वर्ष साइन्स र आर्ट एक्जीविसनसमेत कलेजले गर्दै आएको छ । २७ वर्षदेखि कक्षा ११ र १२ लाई पढाउँदैं आएको सेन्ट लरेन्सले आफूलाई उत्कृष्ट माविको रुपमा स्थापित गर्दै आएको छ  ।

सिट संख्या 
विज्ञानः ३ सय ५०
व्यवस्थापनः ४ सय

भर्ना शुल्क
विज्ञानः १५ हजार रुपैयाँ
व्यवस्थापनः १५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञानः ५ हजार रुपैयाँ
व्यवस्थापनः ४ हजार रुपैयाँ

वार्षिक शुल्क 
विज्ञानः २५ हजार रुपैयाँ
व्यवस्थापनः २५ हजार रुपैयाँ

११. काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल, काठमाडौं

परिमाणभन्दा पनि परिणाममा विश्वास राख्ने काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल पनि देशभरकै उत्कृष्ट माविको सूचीमा पर्छ । प्रयोगात्मक शिक्षण सिकाइलाई जोड, दक्ष तथा अनुभवि शिक्षक शिक्षिक, कुशल व्यवस्थापन, विद्यार्थी मोटिभेसनजस्ता कुराले वर्षेनी नतिजामा अब्बल रहेको स्कुलका अध्यक्ष भेपेश छत्कुली बताउँछन् । ‘हामीले विद्यार्थीलाई सधैँ केन्द्रमा राख्छौँ,’ उनले भने, ‘यसका अलवा दक्ष प्राध्यापक, कुशल व्यवस्थापन र विद्यार्थी मोटिभेसनले नै हामीलाई अब्बल बनाइराख्न सहयोग गरेको छ ।’ साथै, जिम्मेवार अभिभावक, मिहिनेती विद्यार्थी, हरेक हप्ता हुने परीक्षा, नियमित मनिटरिङले गर्दा बर्नहार्टले आफ्नो लय छोड्नु परेको छैन ।

वि.सं. २०५७ बाट सञ्चालित यस माविले विद्यार्थीमा भएको अन्तर्निहित प्रतिभा पहिचान गर्नका लागि अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राख्ने गरेको छतकुली बताउँछन् । ‘हामी विद्यार्थीलाई पढाईमा मात्र होइन अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय बनाउँछौँ,’ उनले भने, ‘हामीले गर्ने अतिरिक्त क्रियाकलापको प्रभाव नै मान्नुपर्छ हाम्रा विद्यार्थीहरु जहाँ जान्छन् खाली हात फर्कँदैनन् ।’ शैक्षिक क्षेत्रमा खारिएको समूहले सञ्चालन गरेको यस कलेजले यसवर्षबाट २५ वर्षमा प्रवेश गरेको छ । यसैको अवसरमा कलेजले २५ जना सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ ।

सिट संख्या
विज्ञानः ५००
व्यवस्थापनः ५००

भर्ना शुल्क
विज्ञानः १५ हजार रुपैयाँ
व्यवस्थापनः १५ हजार रुपैयाँ

मासिक शुल्क 
विज्ञानः ७ हजार ५ सय रुपैयाँ
व्यवस्थापनः ५ हजार ५ सय रुपैयाँ

वार्षिक शुल्क 
विज्ञानः ४५ हजार रुपैयाँ
व्यवस्थापनः ३० हजार रुपैयाँ

१२. विश्व निकेतन सेकेण्डरी स्कुल, काठमाडौं 

देशभरकै सामुदायिक विद्यालयहरु मध्ये अब्बल नतिजा दिने मावि हो काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतन सेकेण्डरी स्कुल । सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदैन भन्नेलाई विश्व निकेतनको नतिजा नै गतिलो झापड दिन्छ । यो माविले हरेक वर्ष अब्बल नतिजासहित ल्याउँदैं आएको छ । गत वर्ष कक्षा १२ को परीक्षामा १ हजार २ सयभन्दा बढी विद्यार्थीलाई सहभागी गराएकोमा १ सय ४१ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेका थिए भने ४ सय ४५ विद्यार्थीले ए ग्रेड प्राप्त गरेका थिए । देशैभर सामुदायिक विद्यालयको नतिजा खस्किरहेको बेला विश्व निकेतनले आफूलाई कसरी अब्बल बनाइराख्यो त ? माविका प्रिन्सिपल हेरम्बराज कँडेल शिक्षक कर्मचारीहरुमा टिमवर्कको भावना भएकाले यो सम्भव भएको बताउँछन् । ‘हामी शिक्षक तथा कर्मचारीमा टिमवर्कको भावना छ,’ उनी भन्छन्, ‘जसकारण हाम्रा कुनै पनि कुनै पनि कक्षा खाली हुँदैनन्, त्यसलाई व्यवस्थापन गर्न सक्ने खुबी सबैमा छ ।’

साथै, कमजोर विद्यार्थीको समयमै पहिचान गरी ती लक्षित उपचारात्मक कक्षा सञ्चाल गर्नुले पनि उत्कृष्ट नतिजा ल्याउन सहयोग गरिरहेको उनी बताउँछन् । यसका अलवा अनुभवी, समर्पित र तालिमप्राप्त शिक्षक हुनु पनि विश्व निकेतनको स्ट्रेन्थ हो । अझै, यो विद्यालयका ९० प्रतिशतभन्दा शिक्षक कर्मचारीका छोराछोरी यहीँ अध्ययन गर्छन् । ‘आफ्ना छोराछोरी नै यहीँ अध्ययन गर्छन् भन्ने भएपछि शिक्षक कर्मचारीहरु आफ्नो काममा थप जिम्मेवार हुनुहुँदो रहेछ,’ उनले भने, ‘त्यसको प्रभाव नतिजामा देखिएको हो ।’ त्यस्तै, यस माविमा नविनतम विधिबाट अध्यापन हुनुका साथै सुविधासम्पन्न भौतिक पूर्वाधार, फिजिक्स, केमेष्ट्री, बायोलोजी, कम्प्युटर र होटल म्यानेजेमन्टको बेग्लाबेग्लै प्रयोगशाला रहेको छ ।

सिट संख्या 
विज्ञानः ४ सय २५
व्यवस्थापनः ७ सय
मानविकीः ६०
कानुनः ६०
शिक्षाः ३०

मासिक शुल्क  
विज्ञानः २ हजार रुपैयाँ
व्यवस्थापनः ९ सय रुपैयाँ
मानविकीः ७ सय रुपैयाँ
कानुनः ९ सय रुपैयाँ
शिक्षाः ७ सय रुपैयाँ

वार्षिक शुल्क 
विज्ञानः १८ हजार रुपैयाँ
व्यवस्थापनः ११ हजार रुपैयाँ
मानविकीः ९ हजार रुपैयाँ
कानुनः ९ हजार रुपैयाँ
शिक्षाः ९ हजार रुपैयाँ

१३. युनिग्लोब सेकेण्डरी स्कुल, काठमाडौं 

विद्यार्थी मेहनत, शिक्षक, कलेज र अभिभावकको योगदानको समिश्रण नै युनिग्लोब सेकेण्डरी स्कुलको सफलताको राज हो । वि.सं. २०७१ सालबाट प्लस टु पढाइ सुरु गरेको युनिग्लोबमा विज्ञान, व्यवस्थापन र कानुन तीन वटा संकाय पढाइ हुन्छ । छोटो अवधिमै माविलाई तीन प्रमुख विशेषज्ञताका कारण अब्बल माविका रुपमा स्थापित गरेको कलेजका कार्यकारी सहायक प्रिन्सिपल डा. गणेश रेग्मी बताउँछन् । ‘विद्यार्थी केन्द्रीत शिक्षण सिकाइ विधी नै हाम्रो सफलताको कारण हो,’ डा. रेग्मी भन्छन्, ‘योग्य तथा अनुभवी शिक्षक तथा कर्मचारी र विद्यार्थीहरुको सिर्जनात्मक प्रतिभाको विकासको लागि नियमित अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नाले हामीले यो सफलता पाएका हौं ।’

९ वर्षदेखि ११ र १२ कक्षाको पढाइ गर्दै आएको यो माविमा ९० प्रतिशत भन्दा बढी पूर्णकालीन शिक्षक हुनुले पनि शिक्षण सिकाइमा सहयोग पुगेको रेग्मी बताउँछन् । ‘हामी कहाँ बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म शिक्षकहरु कलेजमै हुनुहुन्छ,’ उनले भने, ‘जसकारण विद्यार्थीले आफूलाई असहज भएको विषयमा जुनसुकै बेला शिक्षकसँग भेटेर समस्या समाधान गर्न सक्छन् ।’ साथै, यस स्कुलले नियमित कक्षाका साथै स्टुडेन्ट सपोर्ट सर्कलको पनि व्यवस्था गरेको छ । ‘यो सर्कलले विद्यार्थीलाई परेको समस्याको समाधान गर्न तल्लिन रहन्छ,’ उनले भने । यसैगरी, उत्कृष्ट भौतिक पूर्वाधार, इनोभेसन ल्याब, इन्टिग्रेटेड मोडालिटीमा आधारिक शिक्षण सिकाइ जस्ता कुराले युनिग्लोबलाई युनिक बनाउन सहयोग पु¥याइरहेको रेग्मीको भनाइ छ ।

सिट संख्या
विज्ञानः ६५०
व्यवस्थापनः ६५०
कानुनः ७०

भर्ना शुल्क
विज्ञानः १५ हजार रुपैयाँ
व्यवस्थापनः १५ हजार रुपैयाँ
कानुनः १५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञानः १२ हजार रुपैयाँ
व्यवस्थापनः १० हजार रुपैयाँ
कानुनः १० हजार रुपैयाँ

अन्य शुल्क
विज्ञानः ६० हजार रुपैयाँ
व्यवस्थापनः ६० हजार रुपैयाँ
कानुनः ६० हजार रुपैयाँ

१४. साउथवेस्टर्न स्टेट सेकेण्डरी स्कुल, काठमाडौं

नेपालमा कक्षा ११ र १२ अध्ययन अध्यापन गराउने माविहरुको भीडमा काठमाडौंको बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेज अब्बल मावि हो । दक्ष तथा अनुभवी शिक्षक—शिक्षिका, कुशल व्यवस्थापक, उत्कृष्ट भौतिक पूर्वाधार, गुणस्तरीय प्रयोगशाला, अतिरिक्त क्रियाकलापमा जोडलगायतले यो कलेज विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्दै आएको छ ।

१४ वर्षदेखि कक्षा ११ र १२ मा अध्यापन गराउँदैं आएको यो माविबाट उत्पादित विद्यार्थीले कोरेको शैक्षिक गन्तव्य यसको सफलताको अर्को  बलियो सूचक हो । माविमा विज्ञान, व्यवस्थापन, मानविकी र कानून विषयको अध्ययन अध्यापन हुँदै आएको छ । साउथवेस्टर्न स्टेटमा अध्ययन गर्न आउने विद्यार्थीले अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो पहुँच बढाएका छन् । ‘हामीले हरेक वर्ष शैक्षिक भ्रमणका सिलसिलामा विभिन्न अमेरिका, यूरोप लगायतका देशहरुमा लैजान्छौँ,’ प्रिन्सिपल डा. राजेन्द्र केसी भन्छन्, ‘यसले विद्यार्थीहरुलाई विकसित राष्ट्रहरुको विकास र शैक्षिक अवस्थाको बारेमा बुझ्ने अवसर प्रदान गरिरहेको छ भन्ने हाम्रो विश्वास छ ।’  साथै, उत्कृष्ट भौतिक पूर्वाधार, गुणस्तरीय प्रयोगशाला, प्रिजेन्टेसन क्लास, अभिभावकसँग निरन्तर मनोसामाजिक परामर्श, विज्ञसँग नियमित अन्तक्रिया, क्रस क्लासजस्ता कुराको प्रतिबिम्ब नतिजामा देखिएको कलेजको विश्वास छ ।

सिट संख्या
विज्ञान : ५००
व्यवस्थापनः १०००
मानविकीः ५०
कानुनः ५०

भर्ना शुल्क 
विज्ञानः २३ हजार ५ सय रुपैयाँ
व्यवस्थापनः २२ हजार ५ सय रुपैयाँ
मानविकीः २० हजार रुपैयाँ
कानुनः २० हजार

मासिक शुल्क
विज्ञानः ९ हजार ८ सय रुपैयाँ
व्यवस्थापनः ८ हजार ८ सय रुपैयाँ
मानविकीः ७ हजार रुपैयाँ
कानुनः ७ हजार रुपैयाँ

वार्षिक शुल्क 
विज्ञानः ५० हजार ५ सय रुपैयाँ
व्यवस्थापनः ४२ हजार ५ सय रुपैयाँ
मानविकीः ३२ हजार रुपैयाँ
कानुनः ३२ हजार रुपैयाँ

१५. अरनिको आवासीय सेकेण्डरी स्कुल, मोरङ 

पूर्वी नेपालको सर्वोत्कृष्ट माविका रुपमा कहलिएको मावि हो– अरनिको आवासीय माध्यमिक विद्यालय । मोरङस्थित यो माविले हरेक वर्ष नतिजाका साथ आफूलाई देशभरकै अब्बल माविको सूचीमा दर्ज गर्दै आएको छ । वि.सं. २०५६ सालबाट कक्षा ११ र १२ अध्ययन अध्यापन गराउँदै आएको माविले वर्षेनी अब्बल नतिजा ल्याउनुको कारण के हो त ? स्कुलका प्रिन्सिपल राजेश कार्की दक्ष शिक्षक, फुलटाइमर शिक्षक, कुशल व्यवस्थापन, मिहिनेती विद्यार्थी नै सफलताको कारक मान्छन् । ‘हामी कहाँ सुर्योदयदेखि सुर्यास्तसम्म मिहिनेत गर्ने फुलटाइमर शिक्षकहरु हुनुहुन्छ, जसकारण विद्यार्थीले चाहेको समयमा शिक्षकलाई भेट्न सक्छन्,’ उनले भने, ‘यसका अलवा कुशल व्यवस्थापक, जिम्मेवार अभिभावक, मिहिनेती विद्यार्थीका कारण हामीलाई निरन्तर उत्कृष्ट नतिजा प्राप्त भइरहेको छ ।’

विज्ञान र व्यवस्थापन अध्यापन गराउँदै आएको यस माविबाट उत्तीर्ण भएका थुप्रै विद्यार्थीले एमबीबीएस र इञ्जिनियरिङको परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको कार्कीको दाबी छ । ‘हामी कक्षा ११ र १२ मा नै उच्च शिक्षाका लागि विद्यार्थीको बलियो आधार बनाइदिन्छौँ,’ उनी भन्छन्, ‘अहिले स्वदेश तथा विदेशमा अध्ययन गर्ने थुप्रै विद्यार्थीहरुले पूर्ण छात्रवृत्ति प्राप्त गरी अध्ययन गरिरहनुभएको छ ।’ २५ वर्षदेखि निरन्तर अध्यापन गराउँदै आएको यस कलेजको पूर्वी नेपालमा बेग्लै पहिचान बनाउन सफल छ ।

सिट संख्या 
विज्ञानः ८ सय
व्यवस्थापनः १ सय

मासिक शुल्क
विज्ञानः  ५ हजार रुपैयाँ
व्यवस्थापनः ३ हजार ५ सय रुपैयाँ

अन्य शुल्क
विज्ञानः २५ हजार रुपैयाँ
व्यवस्थापनः १५ हजार रुपैयाँ


१६. हिमालयन ह्वाइट हाउस सेकेण्डरी स्कुल, काठमाडौं

हिमालय ह्वाइट हाउसले समयसँगै सिकाइमा नयाँपनलाई अवलम्बन गर्दै आएको छ । वि.सं. २०५८ सालबाट कक्षा ११ र १२ को अध्ययन अध्यापन सुरु गरेको यस विद्यालयमा विज्ञान, व्यवस्थापन र कानुन अध्यापन हुन्छन् । प्राथमिकता नै विशिष्टीकरण केन्द्रीत गरेर लगिरहेको हिमालय ह्वाइट हाउसले उत्कृष्ट विद्यार्थीहरुलाई भर्नामा विशेष महत्व दिने गर्छ । ‘विशिष्टीकृत प्राथमिकता, उत्कृष्ट शैक्षिक व्यवस्थापन र अनुभवी तथा तालिमप्राप्त शिक्षकहरु हाम्रो अब्बलताका प्रमुख तत्व हुन्,’ हिमालय ह्वाइट हाउसका प्रमुख कार्यकारी अधिकृत (सिईओ) युवराज शर्मा भन्छन्, ‘हामीले शिक्षामा नयाँपन ल्याइरहेका छौं । प्रविधीमा बढी जोड दिइरहेका छौं ।’

इलर्निङदेखि एआईसम्ममा प्रविधीलाई विद्यार्थीको सिकाइसँगै जोडेर लगिरहेको उनले बताए । २४ वर्षदेखि कक्षा ११ र १२ लाई अध्यापन गराइरहेको हिमालय ह्वाइट हाउसबाट उत्तीर्ण विद्यार्थीहरुले मेडिकल र इन्जिनियरिङको छात्रवृत्ति परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । यसका लागि कलेजले कक्षा ११ बाट नै मेडिकल र इन्जिनियरिङको तयारी कक्षाहरु सञ्चालन गर्ने गरेको कलेजका कोअर्डिनेटर नवीनलाल कर्ण बताउँछन् । ‘हामी राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा मात्र होइन मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षामा पनि अब्बल नतिजा ल्याउन सफल छौँ,’ उनी भन्छन्, ‘यसमा शिक्षकहरुको लगाब, विद्यार्थीको मेहनत र कक्षा ११ बाट नै सुरु गरिएको तयारी कक्षाको ठूलो भूमिका छ ।’

सिट संख्या
विज्ञानः ५ सय ५०
व्यवस्थापनः ३ सय
कानुनः ४०

वार्षिक शुल्क
विज्ञानः १ लाख ३२ हजार रुपैयाँ
व्यवस्थापनः १ लाख २ हजार रुपैयाँ
कानुनः १ लाख २ हजार रुपैयाँ

१७. ओमेगा इन्टरनेशनल सेकेण्डरी स्कुल, ललितपुर 

ललितपुर कुमारीपाटीस्थित ओमेगा इन्टरनेशनल सेकेण्डरी स्कुल आफ्नो अब्बलताको श्रेय दक्ष शिक्षक, मेहेनती विद्यार्थी, कुशल व्यवस्थापक र जिम्मेवार अभिभावकलाई दिन्छ । यसैगरी प्रविधिमैत्री वातावरण, सुविधासम्पन्न भौतिक पूर्वाधार, विद्यार्थी लक्षित मनोसामाजिक परामर्शजस्ता पक्षले पनि नतिजा सुधारमा सहयोग गरिरहेको ओमेगाका प्रिन्सिपल रमेश अधिकारी बताउँछन् । ‘हाम्रो अब्बल नतिजाको कारण उत्कृष्ट पढाइ नै हो,’ उनी भन्छन्, ‘शान्त, अनुशासन र प्रविधिमैत्री वातावरणमा पढाइ हुने हुँदा हाम्रा विद्यार्थीहरु परीक्षामा पनि सफल हुन्छन् ।’

वि.सं. २०६७ सालबाट कक्षा ११ र १२ अध्यययन अध्यापन गराउँदै आएको यस माविमा विद्यार्थीको आकर्षण बढ्नुको अर्को कारण भनेको यहाँको भौतिक पूर्वाधार पनि हो । ‘हाम्रा भौतिक पूर्वाधार वल्र्ड क्लासको छ,’ उनले भने, ‘यसभित्र बनाइएका कक्षाकोठा, लाइब्रेरी, विज्ञान तथा कम्प्युटर प्रयोगशाला पनि उत्तिकै आधुनिक छन् ।’

सिट संख्या 
विज्ञानः ४ सय ५०
व्यवस्थापनः ५ सय ५०
मानविकीः ३०
कानुनः ३०

जम्मा शुल्क 
विज्ञानः   १ लाख ५३ हजार रुपैयाँ
व्यवस्थापनः १ लाख २९ हजार रुपैयाँ
मानविकीः १ लाख २३ हजार रुपैयाँ
कानुनः १ लाख २३ हजार रुपैयाँ

१८. जेभियर इन्टरनेशनल सेकेण्डरी स्कुल, काठमाडौं 

फुलटाइम शिक्षक, विद्यार्थी सधैंभरी शिक्षकको सम्पर्कमा रहने व्यवस्था, विद्यार्थीको नियमित निगरानी, एक्स्ट्रा कक्षा, डिजिटल प्लेटफर्ममार्फत भिडियो शिक्षाजस्ता कारणले कालोपुलस्थित जेभियर इन्टरनेशनल सेकेण्डरी स्कुललाई अब्बल माविहरुको सूचीमा अग्रस्थानमा पु¥याएको हो । ‘भिडियोमार्फत विद्यार्थीहरु सहज तरिकाले सिकिरहेका हुन्छन्,’ स्कुलमा प्रिन्सिपल दिपेन दाहाल भन्छन्, ‘एलटीडब्लु मेथडबाट पनि हामीले पढाइरहेका छौं । साथै, वर्कसप मेथड पनि प्रयोगमा छ ।’ उनकाअनुसार यसले विद्यार्थीहरुमा कन्फिडेन्स विकास गर्नुका साथै अब्बल नतिजाका लागि प्रोत्साहित गर्छ।

सन् २००१ देखि कक्षा ११ र १२ को अध्यापन गराइरहेको जेभियरले विद्याथीको समग्र विकासमा काम गरिरहेको छ ।  ‘हाम्रो मिसन भनेको होलस्टिक डेभलप हो,’ दाहाल थप्छन्, ‘१९ वटाभन्दा क्लब छन् । ती क्लबहरुलाई विद्यार्थीहरुले नै लिड गरेका हुन्छन् । जसबाट विद्यार्थीले नेतृत्वकला सिक्न सक्छन् ।’

त्यसबाहेक जुनियर रेडक्रस र स्काउट पनि जेभियरमा क्रियाशील छन् । जसमार्फत विद्यार्थीहरुलाई समुदायमा लगेर सामुदायिक कार्यमा संलग्न गराउने गरिन्छ । ‘उनीहरु समाजमा रुपान्तरण गर्नका लागि अग्रणी भूमिका निभाउन सकुन् भन्ने उद्धेश्यले हामी काम गर्छौ,’ उनले भने, ‘यसले उनीहरुमा टिमवर्कको पनि राम्रो विकास गर्छ ।’

सिट संख्या 
विज्ञान : ९ सय
व्यवस्थापनः ५ सय
मानविकीः ६०
कानुनः ४०

मासिक शुल्क 
विज्ञानः ८ हजार ५ सय रुपैयाँ
व्यवस्थापनः ७ हजार ५ सय रुपैयाँ
मानविकीः७ हजार ५ सय रुपैयाँ
कानुनः ७ हजार ५ सय रुपैयाँ

वार्षिक शुल्क 
विज्ञानः ५० हजार रुपैयाँ
व्यवस्थापनः ५० हजार रुपैयाँ
मानविकीः ५० हजार रुपैयाँ
कानुनः ५० हजार रुपैयाँ

१९. हेराल्ड सेकेण्डरी स्कुल, काठमाडौं 

विद्यार्थीको सुक्ष्म निगरानी, पढाइमा विविधता, प्रविधिमैत्री शिक्षामा जोड, अत्याधुनिक भौतिक पूर्वाधार, दक्ष शिक्षक—शिक्षिकालगायतका कुराले बसुन्धारास्थित हेराल्ड सेकेण्डरी स्कुल अब्बल माविका रुपमा स्थापित गराएको छ । वि.सं. २०६४ सालबाट कक्षा ११ र १२ को अध्ययन अध्यापन सुरु गरेको यस माविले विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, स्वास्थ्य र फेसन डिजाइनिङलगायतको अध्यापन गराउँदै आएको छ ।

क्लोज एजुकेशन सिस्टम, अतिथि शिक्षक, विद्यार्थीलाई दिइने मनोसामाजिक परामर्श, अभिभावकसँगको नियमित सम्पर्कजस्ता कुरा हेराल्डको सफलताका सूचक रहेको स्कुलका प्रिन्सिपल विनोद रेग्मी बताउँछन् । ‘हामी विद्यार्थीको सुक्ष्म मूल्यांकन गर्छौँ र सोहीअनुसार उनीहरुलाई मोटिभेसन गर्छौं,’ उनले भने, ‘विद्यार्थीलाई लयमा ल्याउन हाम्रो आफ्नै शैली छ ।’ यसैगरी, हेराल्डलले व्यवहारिक शिक्षालाई विशेष जोड दिँदै आएको छ । ‘मेहनती विद्यार्थी, उत्कृष्ट शिक्षक, अत्याधुनिक प्रयोगशालाजस्ता कुराहरु हाम्रा सबल पक्ष हुन्,’ उनी भन्छन्, ‘हामी व्यवहारिक शिक्षामा विशेष ध्यान दिन्छौं । समय व्यवस्थापन, विषय विज्ञहरुसँग अन्तक्रिया, प्रयोगशालामा बढी समयजस्ता कुराहरुले हामीलाई अब्बल बनाएको हो ।’

सिट संख्या
विज्ञानः ३ सय
व्यवस्थापनः ८ सय
मानविकीः  १ सय
कानुनः ४०
स्वास्थ्यः ४०
फेसन डिजाइनिङः ४०

वार्षिक शुल्क 
विज्ञानः १ लाख ५९ हजार रुपैयाँ
व्यवस्थापनः १ लाख २५ हजार हजार रुपैयाँ
मानविकीः १ लाख १० हजार रुपैयाँ
कानुनः १ लाख १० हजार रुपैयाँ
स्वास्थ्यः १ लाख १७ हजार रुपैयाँ
फेसन डिजाइनः १ लाख १७  हजार रुपैयाँ

२०. गोल्डेनगेट इन्टरनेशनल सेकेण्डरी स्कुल, काठमाडौं  

विद्यार्थीलाई पढाउनेभन्दा पनि पढ्ने बनाउने भन्ने मूल मन्त्र बोकेको गोल्डेनगेट इन्टरनेशनल कलेज पनि अब्बल मावि हो । स्टुडेन्ट सेन्टर तथा फोकस भएर अध्यापन गराइन् भएकाले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवाल बताउँछन् । ‘हामी विद्यार्थीलाई घोकाउने र नोट दिने काम गर्दैनौँ,’ उनले भने, ‘हामी जान्ने विद्यार्थीलाई अवसर दिन्छौं । जो कमजोर छ, उसलाई मिहिनेत गर्ने अवसर दिन्छौँ ।’

यसैगरी, विद्यार्थीसँगको कनेक्सन र केयरिङ गोल्डेन गेटको सफलताको अर्को कारण हो । साथै, उत्कृष्ट शैक्षिक पूर्वाधार, विद्यार्थीको क्षमता पहिचान गरी शिक्षण सिकाइमा जोड दिइने भएकाले नै गोल्डेनगेटले गोल्डेन नतिजा ल्याउने गरेको कलेजका प्रमुख कार्यकारी निर्देशक सलवाल बताउँछन् । ‘हामीले विद्यार्थीलाई सधैँ केन्द्रमा राख्छौँ र अभिभावकको प्रतिक्रियालाई सधैँ शिरोधार्य गर्दै आएका छौँ,’ उनले भने, ‘उत्कृष्ट शिक्षकहरुको समूह अनि कुशल व्यवस्थापनले गर्दा नै हामीले सर्वोत्कृष्ट नतिजा ल्याउँदै आएका छौँ ।’ वि.सं. २०६४ सालबाट कक्षा ११ र १२ को अध्यापन गराउन थालेको यो माविले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि  अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ ।

सिट संख्या 
विज्ञानः ८ सय
व्यवस्थापनः ५ सय
मानविकीः ४०

भर्ना शुल्क 
विज्ञानः ३० हजार रुपैयाँ
व्यवस्थापनः ३० हजार रुपैयाँ

मासिक शुल्क 
विज्ञानः ६ हजार ५ सय रुपैयाँ
व्यवस्थापनः ६ हजार रुपैयाँ
मानविकीः ५ हजार रुपैयाँ

२१. युनाइटेड एकेडेमी सेकेण्डरी स्कुल, ललितपुर

ललितपुर कुमारीपाटीस्थित युनाइटेड एकेडेमी पनि अब्बल माविहरुमा पर्छ । २५ वर्षदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदै आएको यस माविले गुणस्तरीय शिक्षामा जोड दिएको प्रिन्सिपल डा. लाल रापचाले माविको वेवसाइटमा बताएका छन् । माविले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन गराउँदै आएको छ ।

सिट संख्या
विज्ञानः ८ सय
व्यवस्थापनः ७ सय
मानविकीः ३०
कानुनः ३०

भर्ना शुल्क
विज्ञानः ७५ हजार रुपैयाँ
व्यवस्थापनः ६९/६४ हजार रुपैयाँ
मानविकीः ५९ हजार रुपैयाँ
कानुन: ५९ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञानः ११ हजार रुपैयाँ
व्यवस्थापनः ९ हजार रुपैयाँ
मानविकीः ७ हजार ३ सय रुपैयाँ
कानुनः  ७ हजार ३ सय रुपैयाँ

२२. ट्रिनिटी इन्टरनेशल सेकेण्डरी स्कुल, काठमाडौं 

काठमाडौंको ट्रिनिटी इन्टरनेशल सेकेण्डरी स्कुल पनि देशभरकै अब्बल माविभित्र पर्छ । उसो त वर्षेनी कक्षा ११ को भर्नाको समयमा यो कलेजमा कुम्भमेला नै लाग्छ । नियमित उत्कृष्ट नतिजा, भौतिक पूर्वाधार, उपयुक्त लोकेसन, अतिरिक्त क्रियाकलापमा जोड, प्रयोगात्मक शिक्षण सिकाइमा जोडजस्ता कुराले हरेक वर्ष विद्यार्थी तथा अभिभावकको आकर्षण बढिरहेको कलेजका प्रशासन प्रमुख अम्बिर थापा बताउँछन् । ‘हामी विद्यार्थीलाई के पढ्ने भन्दा पनि कसरी पढ्ने भन्ने विषयमा बढी जोड दिन्छौं,’ उनले भने, ‘जसका कारण हामी नतिजामा सधैं अब्बल छौँ ।’

सन् २००८ मा स्थापना भएको यो माविले विज्ञान र व्यवस्थापनमा अध्ययन अध्यापन गराउँदै आएको छ । अतिरिक्त क्रियाकलाप, प्रविधिमैत्री कक्षाकोठा यस कलेजका थप आकर्षण हुन् । साथै, विद्यार्थीको कक्षा १२ पछिको शैक्षिक यात्रामा पनि ट्रिनिटी सारथी बन्दै आएको छ ।

सिट संख्या 
विज्ञानः  १ हजार ४ सय
व्यवस्थापनः ६ सय

मासिक शुल्क 
विज्ञानः ९ सय ७ सय रुपैयाँ
व्यवस्थापनः ८ हजार ४ सय रुपैयाँ

वार्षिक शुल्क
विज्ञानः ३६ हजार रुपैयाँ
व्यवस्थापनः ३६ हजार रुपैयाँ

अन्य खर्च वार्षिक 
विज्ञानः ३० हजार रुपैयाँ

२३. ब्लूवर्ड सेकेण्डरी स्कुल 

डेडिकेटेड फ्याकल्टी, विद्यार्थीहरुको विशेष केयर, व्यवस्थापनको एक्स्पर्टीजजस्ता कारणले नै ललितपुरको कुमारीपाटीस्थित ब्लूवर्ड सेकेण्डरी स्कुललाई अब्बल बनाएको हो । स्कुलका प्रिन्सिपल वीर सिंह क्षेत्रीकाअनुसार वि.सं. २०६१ सालदेखि निरन्तर  कक्षा ११ र १२ लाई अध्यापन गराउँदैं आएको ब्लूवर्डमा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र फाइन आर्टस संकायमा पढाइ हुन्छ ।

‘डेडिकेटेड व्यवस्थापन टिम र फ्याकल्टी, एक्सपर्टीज र विद्यार्थीहरुको विशेष केयर नै  हाम्रो सफलताको मुख्य कारण हुन्,’ क्षेत्री भन्छन् । स्कुलले अतिरिक्त क्रियाकलाप विशेष जोड दिदैं आएको छ भने विभिन्न क्लब सक्रिय छन् । विद्यार्थीलाई मोटिभेसन गर्न पनि स्कुलले विशेष भूमिका खेल्दै आएको उनले बताए । ‘हाम्रो विद्यालयबाट २.७ जीपिए ल्याउने विद्यार्थीले पनि इन्जिनियरिङको छात्रवृत्तिमा नाम निकालेको उदाहरण छ,’ उनले भने । स्कुलको भौतिक संरचना भने भाडामा रहेको छ ।

सिट संख्या 
विज्ञानः १ सय ८०
व्यवस्थापनः ४ सय
मानविकीः ३०
फाइन आर्टः २०
कानुनः ३०

वार्षिक शुल्क 
विज्ञानः १ लाख ५१ हजार रुपैयाँ
व्यवस्थापनः १ लाख २१ हजार रुपैयाँ
मानविकीः १ लाख १२ हजार रुपैयाँ
कानुनः १ लाख १२ हजार रुपैयाँ
फाइन आर्टस्ः १ लाख २० हजार रुपैयाँ

२४. मनकामना सेकेण्डरी स्कुल (जया मल्टिपल कलेज)  

न्यून शुल्कमा ६५ भन्दा बढी जिल्लाका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको काठमाडौं जोरपाटीस्थित मनकामना पनि अब्बल माविका पर्छ । वि.सं. २०६० सालदेखि कक्षा ११ र १२ को पढाइ गराइरहेको यो माविमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन गरी चार संकायको पढाइ हुन्छ ।

कलेजका प्रिन्सिपल भवानी पौडेलकाअनुसार लामो इतिहास बोकेको शैक्षिक धरोहर, क्वालिटी एजुकेशन, आफ्नै भौतिक पूर्वाधार, उत्कृष्ट एवं शान्त वातावरण र अनुभवी फ्याकल्टीका कारण मनकामना अब्बल मावि बन्न सफल भएको हो । ‘माविबाट पासआउटहरु राजनीतिक, मेडिकल, इन्जिनियरिङ, बैकिङलगायतका क्षेत्रमा राम्रो पोजिशन होल्ड गरिरहेका छन्,’ उनले भने, ‘विश्वविद्यालयमा पनि अवसर पाइरहेका छन् ।’ उनकाअनुसार मनकामनामा सबै खाले विद्यार्थीहरु सहजै अट्न सक्छन् । ‘६५ भन्दा बढी विद्यार्थी आएर अध्ययन गर्ने शैक्षिक थलो हो, आम अभिभावक, शिक्षक र शिक्षासँग सरोकार राख्नेहरुको विश्वासको वातावरण बनेको कलेज भएकाले पनि अब्बल भएको बताए । माविमा भलिबल, बाँस्केटबल, टेबलटेनिसलगायतका खेलकूदका आफ्नै संरचना छन् । विगत २१ वर्षदेखि आफ्नै भौतिक पूर्वाधारमा विद्यार्थी पठनपाठन गराउँदैं आएको यो माविले उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
विज्ञानः १००
व्यवस्थापन : ४ सय
मानविकी : ४५
कानुन : ३५

वार्षिक शुल्क
विज्ञानः ९८ हजार ४७५ रुपैयाँ
व्यवस्थापनः ७२ हजार ४७५ रुपैयाँ
मानविकीः ६५ हजार ४७५ रुपैयाँ
कानुन : ७२ हजार ४७५ रुपैयाँ

२५. मुनलाइट सेकेण्डरी स्कुल, ललितपुर

ललितपुरस्थित कुमारीपाटीको मोलिस (मुनलाइट) सेकेण्डरी स्कुललाई सेलेक्टेड विद्यार्थी भर्ना, नियमित क्लास, अनुभवी शिक्षकहरुको टिमले अब्बल बनाएको छ । विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर माविले विभिन्न क्लबसमेत गठन गरेर अन्तक्रियालाई बढावा दिने काम गर्छ ।

सुविधासम्पन्न भौतिक पूर्वाधार रहेको स्कुलका प्रिन्सिपल ईश्वर गुरुङले जानकारी दिए । ‘यी सबै कुराहरुले हामीले निरन्तर अब्बल नतिजा ल्याउँदैं आएका छौं,’ उनले भने, ‘अतिरिक्त क्रियाकलाप, विद्यार्थीमैत्री वातावरणलगायतका नै हाम्रो अब्बलताको कारण हुन् ।’ मुनलाइटले १६ वर्षदेखि कक्षा ११ र १२ लाई अध्यापन गराइरहेको छ ।

सिट संख्या 
विज्ञानः २ सय ५०
व्यवस्थापनः ३ सय ५०

भर्ना शुल्क 
विज्ञानः १५ हजार रुपैयाँ
व्यवस्थापनः १५ हजार रुपैयाँ

मासिक शुल्क 
विज्ञानः ७ हजार रुपैयाँ
व्यवस्थापनः ६ हजार रुपैयाँ





तपाईको प्रतिक्रिया